आज ७५औँ ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ को अवसरमा देशका विभिन्न भागमा विविध कार्यक्रम आयोजना गरी मनाइएको छ । यसैबिच उर्लाबारीमा “वाक स्वतन्त्रता : प्रजातन्त्रको गहना कि दुरुप्रयोग ?” भन्ने विषयमा नगरस्तरिय वादविवाद प्रतियोगिता सम्पन्न भएको छ ।
उर्लाबारी परिवर्तनशील युवा क्लवको आयोजनामा बुधबार उर्लाबारी -५ स्थित सुनगाभा माध्यमिक विद्यालयको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको छ ।




सो प्रतियोगितामा भृकुटी बोर्डिङ स्कुलकी छात्रा सृष्टी अधिकारी प्रथम भएकी छिन् । यस्तै सुनगाभाकी छात्रा रोशीना खतिवडा द्वितीय र शारदा माविकी सपना बराइलीले तृतीय स्थान हाँसिल गरेकी छिन् । उनीहरुलाई कार्यक्रमकी विशिष्ट अतिथी उर्लाबारी नगरपालिकाकी उपप्रमुख मिना खतिवडा पौडेलसहित प्रतियोगिताका निर्णायक मण्डलीले नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको थियो ।

उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा उर्लाबारीका सामुदायिक तथा निजीसमेत गरि जम्मा १८ वटा विद्यालयको सहभागिता रहेको थियो ।
क्लवका अध्यक्ष प्रविन घिमिरेको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडा नम्बर ७ र ८ का वडाध्यक्षद्वय उर्मिला थापा र कुल बहादुर कार्की, संचार क्लव नेपालका अध्यक्ष कुमार खड्का, क्लवका सल्लाहकार केशव घिमिरे, नितम चौहान, शम्भु गौतम, उर्लाबारी जेसीज अध्यक्ष भाईटीका भट्टराई, पत्रकार केदार चौहानलगायतको आतिथ्यता रहेको थियो ।
क्लवकी कोषाध्यक्ष पूजा खनालको कार्यक्रम संयकोजनमा र क्लवकी सचिव गरिमा ढुङ्गाना र सह सचिव भविष्य बजगाइको संचालनमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै क्लवकी उपाध्यक्ष एन्जिला कार्कीले उक्त कार्यक्रममा स्वागत मन्तव्य राखेकी थिईन्।
सो अवसरमा क्लवका सदस्य समिप्य खनालले राष्ट्रियता झल्काउने गित गाएर सबैको ध्यान केन्द्रित गराएका थिए ।
गत साउन ४ गते गठन भएको सो क्लवले उर्लाबारीमा विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।




