दमक नगरपालिका वडा नम्बर ४ ताराबारीमा संचालनमा रहेको मेचि ए.ए.सी. ब्रिक उद्योगमा हाल ब्लक ईटाको माग उच्च रहेको छ ।  जर्मन प्रविधिबाट तयार हुने उक्त ईटालाई जस्तोसुकै भवन तथा भौतिक संरचनामा प्रयोग गर्न मिल्ने भएकाले निर्माण व्यवसायीको रोजाइमा पर्न थालेको हो ।

उद्योगका व्यवस्थापक मात्रीका दाहालकाअनुसार सेतो÷खरानी रङमा विशेष गरी ४, ६ र ८ इन्च साइजका ब्लक उत्पादन हुँदै आएका छन्, जसमा ४ र ६ इन्चको माग बजारमा उच्च रहेको छ।

अत्याधुनिक मेसिन र स्वचालित प्रकृयाद्वारा तयार हुने सो ईटा टिकाउ, दह्रो हुनुका साथै साउण्ड प्रुफ समेत हुने  व्यवस्थापक दाहालले बताए ।  उनकाअनुसार बालुवा, चुना, आलुमिनियम पाउडर, जिप्सम पाउडर, सोल्युबल आयल तथा ५३ ग्रेड ओपीसी सिमेन्टको मिश्रणबाट ब्लक उत्पादन गरिन्छ। औसतमा एक लटमा करिब ३ हजार इटा उत्पादन हुने र पूर्ण रूपमा तयार हुन करिव एक दिन लाग्ने बताइएको छ।

करिव ३५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो उद्योगमा स्थानीय २५ जना कर्मचारी कार्यरत छन् भने एक जना विशेषज्ञले प्रत्यक्ष सुपरिवेक्षण गर्ने  गरेका छन् ।

उर्लाबारीका युवा व्यवसायी पवन घिमिरेले करिब ४० करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालन गर्दै आएका छन्। युवा जोश, जाँगर र विवेकको प्रयोग गर्दै उद्योगलाई स्थापित गर्न सफल भएको उनी बताउँछन्। उद्योगबाट उत्पादित इटाको झापाको चाराली र सुनसरीको झुम्कामा डिलर समेत सञ्चालनमा रहेको उनले जानकारी दिए।

पानीमा समेत तैरिने, लागो नलाग्ने तथा फायर–रेसिस्टेन्ट गुण भएको उक्त ब्लक पूर्ण रूपमा वातावरणमैत्री रहेको उद्योगले जनाएको छ।

अध्यक्ष घिमिरेका अनुसार ए.ए.सी. ब्लक प्रयोग गर्दा घर वा भवन निर्माणमा समग्र खर्च करिब ३० प्रतिशतसम्म घटाउन सकिन्छ। “साधारण इटा प्रयोग गर्दा सिमेन्ट, बालुवा लगायतका खर्च बढी लाग्छन्, तर ए.ए.सी. ब्लकमा ती खर्चहरू कटौती हुन्छन्। गारो लगाएपछि पानी हालिरहनु पनि पर्दैन,” उनले भने।

यस्तै, उनले नेपालीलाई सुरक्षित र आधुनिक घर निर्माणमा सघाउनु सो उद्योगको मुख्य उद्देश्य रहेको बताएका छन् ।

वातावरणीय सन्तुलन र स्वदेशी कच्चा पदार्थको अधिकतम प्रयोगलाई प्राथमिकता दिने उनको व्यवसायीक गतिविधी उदाहरणीय र प्रेरणादायी बनेको छ । ” देशमा केहि गर्नै सकिदैन,  लगानी गर्ने ठाउ नै छैन, अवसर केहि छैन,  वैदेशिक यात्रा नै अन्तिम विकल्प हो …!” भन्ने युवाहरुका लागि पवन उदाहरणीय बनेका छन् ।

हाल नेपालभर यस्तै प्रकृतिका ९ वटा उद्योग सञ्चालनमा रहेका छन्। झापामा २, चितवनमा २, धादिङमा २, वीरगञ्ज, भक्तपुर र भैरहवामा एक–एक उद्योग सञ्चालनमा छन्।

आधुनिक, सुरक्षित, हलुका र ऊर्जा बचत गर्ने नयाँ पुस्ताको इटाका रूपमा परिचित ए.ए.सी. ब्लकको प्रयोग पछिल्लो समय नेपालमा तीव्र रूपमा बढ्दै गएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय