उर्लाबारी, ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारी दर्तासँगै मोरङ क्षेत्र नं. १ मा चुनावी चहलपहल सुरु भएको छ । उर्लाबारी नगरपालिकामा रहेको क्षेत्रिय निर्वाचन अधिकृतको कार्यालयमा विभिन्न १३ राजनीतिक दल र पाँच जना स्वतन्त्र गरी १८ जनाले मनोनयन दर्ता गराएका छन् ।
उम्मेद्वारी दर्ता गराउनेमा नेपाली काँग्रेसबाट प्रदेश सहमहामन्त्री खड्ग फागो, नेकपा (एमाले) बाट कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, नेपाली कम्युनिस्ट पार्टीबाट केन्द्रीय सदस्य कुशल लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट यज्ञमणि न्यौपाने, नेकपा (माओवादी) बाट डिल्लीराम नेपाली, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पूर्णबहादुर वाइबा, श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिन लामा, मितेरी पार्टी नेपालबाट डिल्लीराम लिम्बू, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दिलकुमारी लावती, राष्ट्रिय परिवर्तन पार्टीबाट दुर्गाकुमारी तामाङ, जनता समाजवादी पार्टी नेपालबाट दुर्गाप्रसाद दर्लामी, नेपाल जनमुक्ति पार्टीबाट फिवराज लिम्बू र मंगोल नेशनल अर्गनाइजेशनबाट सुरज लिम्बू उम्मेद्वार बनेका छन् । यामप्रसाद दाहाल, मिलन भण्डारी, प्रेम वर्देवा, पशुपति घिमिरे र इशोर वाग्लेले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । मनोनयन दर्तासँगै चुनावी चहलपहल बढेको छ ।
लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माणमा सक्रिय रहँदै आउनुभएका फागो परिवर्तनको पक्षमा युवालाई जागरुक बनाउँदै आउनु भएको नेता हो ।
मोरङ–१ का गाउँ–टोल, स्थानीय समस्या र आवश्यकतालाई नजिकबाट बुझेका अनुभवी नेतृत्वका रूपमा फागोलाई लिइने गरिन्छ ।
कोशी प्रदेश सहमहामन्त्रीका रूपमा फागोले पार्टी संगठन विस्तार, कार्यकर्ता परिचालन तथा आन्तरिक एकता सुदृढीकरणमा प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएको छ । कुनै पनि भ्रष्टाचार, अनैतिक गतिविधिमा नजोडिएको स्वच्छ छवि भएका कारण उहाँप्रति जनविश्वास उच्च रहेको कांग्रेस नेताहरूको भनाइ छ ।
युवा ऊर्जा र राजनीतिक परिपक्वता दुवै बोकेका फागोले पुराना र नयाँ पुस्ताबीच सहकार्य र समन्वय गराउन सक्ने क्षमता राख्नुहुन्छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र पूर्वाधार विकासका क्षेत्रमा स्पष्ट योजना र दृष्टिकोण प्रस्तुत गर्न सक्ने नेता भएको पार्टीको दाबी छ ।
प्राकृतिक विपद्, सामाजिक समस्या तथा जनआन्दोलनका बेला सधैं अग्रपंक्तिमा उभिएर जनताको पक्षमा आवाज उठाउने नेताका रूपमा पनि उहाँ परिचित हुनुहुन्छ ।
लोकतन्त्र, समावेशिता, सामाजिक न्याय र संविधानको संरक्षण गर्ने कांग्रेसको मूल मर्मप्रति उहाँ दृढ रूपमा प्रतिबद्ध रहेको बताइएको छ ।
मोरङ क्षेत्र नं. १ मा ४ पालिका उर्लाबारी, लेटाङ नगरपालिका, मिक्लाजुङ र केराबारी गाउँपालिका पर्छन् । यो क्षेत्रमा १ लाख २८ हजार ५ सय ४५ जना मतदाता रहेका छन् ।








