रंगेली, ५ माघ । देशमा ग्यास र बिजुलीबाट खाना पकाउने आधुनिक प्रविधि विस्तार हुँदै गएको सरकारी दाबी र राजनीतिक भाषणहरूबीच तराईका ग्रामीण भेगमा बसोबास गर्ने हजारौँ विपन्न परिवारको दैनिकी अझै गाई–गोरुको गोबरबाट बनाइने गुईठामै निर्भर छ ।
चुनावी सभामा विकास, समृद्धि र आधुनिक जीवनशैलीका ठूला सपना बाँडिँदै गर्दा मोरङको दक्षिणी भेगका नागरिकको जीवन भने दशकौँअघिकै यथार्थमा सीमित देखिन्छ ।
मोरङका रंगेली, सुनबर्सी, रतुवामाई, धनपालथान लगायतका पालिकामा बसोबास गर्ने गरिब तथा अतिविपन्न समुदायका महिलाहरू कार्तिकदेखि बैशाखसम्म गाउँघर डुलेर गाई, गोरु र भैँसीको गोबर संकलन गर्दै वर्षभरिका लागि पुग्ने गुईठा बनाउन व्यस्त छन् ।
स्थानिय ऋषिदेव, यादव, मण्डल, साह, राजवंशी लगायतका समुदायका महिलाहरूका लागि गुईठा बनाउनु कुनै परम्परा वा रहर नभएर बाध्यता बनेको छ ।
स्थानीय झिन्झी देवी महत्तो भन्छिन्, “ग्यास र बिजुलीको कुरा त रेडियो र नेताको भाषणमै सुनिन्छ, हाम्रो भान्सामा भने अझै गुईठाकै आगो बल्छ ।” ग्रामिण भेगका महिलाहरु बिहान सबेरैदेखि गोबर भिजाउने, पराल वा भुस मिसाएर डल्लो बनाउने र घाममा सुकाउने काममा जुट्छन ्। यसरी बनाइएका गुईठा करिब १५ दिनमा सुक्ने र पानीबाट सुरक्षित राखेर वर्षभरि खाना पकाउन प्रयोग गरिन्छ ।
बजारमा ग्याँसचुलो, विद्युतीय चुलो र अन्य आधुनिक उपकरण उपलब्ध भए पनि आर्थिक अभावका कारण ती सामग्री खरिद गर्न नसक्नु नै गुईठामा निर्भर हुनुको मुख्य कारण भएको स्थानीय सन्तोषी देवी सरदार बताउँछिन् ।
“ग्यास चुलो भए पनि सिलिन्डर भर्ने पैसा हुँदैन, बिजुलीको चुलो किन्न सक्ने अवस्था छैन,” उनी भन्छिन् ।
स्थानीय पालिकाले बेला–बेला विपन्न परिवार लक्षित गरी विद्युतीय चुलो वितरण गरे पनि त्यसको दीर्घकालीन उपयोग सम्भव नभएको अनिता देवी मण्डलको बुझाइ छ । उनि भन्छिन्‌–“ग्यास र बिजुली दुबै पैसा सग जोडिएका छन्, हामीलाई चामल किन्नै गाह्रो छ, ग्याँस र बिजुली चुलौ र पैसा हुनेले मात्र चलाउछन् हामी त सक्दैनौ।”
यही यथार्थबीच देश फेरि चुनावी माहोलमा प्रवेश गरेको छ । विभिन्न राजनीतिक दलका उम्मेदवारहरू गाउँ–गाउँ पुगेर रोजगारी, गरिबी अन्त्य, ऊर्जा पहुँच र समृद्धिका सपना बाँड्दै भोट मागिरहेका छन् ।
तर तराईका ग्रामीण भेगमा बसोबास गर्ने सिमान्तकृत नागरिकको दैनिक संघर्ष ती भाषणमा कहिल्यै प्राथमिकतामा पर्दैन ।
विश्लेषकहरूका अनुसार चुनावी घोषणापत्र र ग्रामीण यथार्थबीचको यो गहिरो खाडल नै राज्य र राजनीतिक नेतृत्वको असफलताको स्पष्ट संकेत हो ।
“यदि विकास साँच्चै तल्लो स्तरका जनतासम्म पुगेको भए महिलाहरू अझै पनि गोबर बटुलेर गुईठा बनाउन बाध्य हुन नपर्ने स्थानिय अगुवाहरु बताउछन् ।
चुनावमा ठूला–ठूला सपना र आकर्षक नाराले भरिएको चुनावी राजनीतिबीच तराईका ग्रामीण भेगका विपन्न नागरिक भने आज पनि गुईठाकै भरमा बिहान–बेलुकाको छाक टारिरहेका छन् ।
नेताहरूले देखाउने सपना कहिले यथार्थमा परिणत हुन्छन् भन्ने उनीहरूलाई थाहा छैन, तर उनीहरू एउटै आशा बोकेर बसेका छन् कहिले गुईठाको धुवाँबाट मुक्ती पाईला भनेर ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय