दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी–४ छाता चोक निवासी ४० वर्षीय सन्तोष विक गत पाँच महिनादेखि ताप्लेजुङमा ज्वेलरी पसल सञ्चालन गर्दै आएका छन्। विक विगत १२–१३ वर्षदेखि मधुमेह (सुगर) र उच्च रक्तचाप (प्रेसर) का बिरामी हुन्। त्यसैबीच, उनी लामो समयदेखि पित्तथैलीमा पत्थरीको समस्याबाट पीडित थिए।

महिनौंदेखि उपचारका लागि उर्लाबारीदेखि सुनसरीको घोपासम्म र भारतसम्म धाउँदा पनि उपचार सम्भव नभएपछि उनले गोदावरी अस्पताल, उर्लाबारीमा एनेस्थेसियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञ डा. रविन्द्र शाहसँग परामर्श गरे।

डा. शाहको सल्लाहअनुसार सन्तोष गत मंगलबार अस्पतालमा भर्ना भए। सम्पूर्ण परीक्षण पश्चात बुधबार शल्यक्रियाको मिति तोकियो। डा. शाहको नेतृत्वमा दुई घण्टासम्म चलेको जटिल शल्यक्रियामा पत्थरी सफलतापूर्वक निकालिएको थियो।

डा. शाहका अनुसार, “विकको सुगर, प्रेसर असन्तुलित हुनुका साथै उनी एन्जाइटी (चिन्ता) बाट पनि ग्रस्त थिए, जसले शल्यक्रिया थप जटिल बनायो।” शल्यक्रियाका क्रममा केही समय बिरामीको श्वासप्रश्वास बन्द भएको थियो। “स्याचुरेसन २९–३० को रेन्जमा झरेपछि मास्क भेन्टिलेसनमार्फत रि–सक्किडेट गरी बिरामीलाई सामान्य अवस्थामा ल्याउन सफल भयौँ । शल्यकृयाको समय करिव १ घण्टा ३० मिनेट थियो ,” डा. शाहले जानकारी दिए।

शल्यक्रिया सफल भएपछि सन्तोषले खुशी व्यक्त गर्दै भने, “म डराउने स्वभावको, सुगर र प्रेसरको बिरामी भएकाले अरु अस्पतालमा अपरेसन गर्न मानेका थिएनन्। गोदावरी अस्पतालले सफलतापूर्वक शल्यक्रिया गरेर नयाँ जीवन दिएकोमा धन्यवाद दिन चाहन्छु।”

शल्यक्रिया सम्पन्न भएपछि डा. शाहले एक भिडियो सन्देशमार्फत उर्लाबारीमा समेत विभिन्न प्रकारका जटिल रोगको उपचार सम्भव भएको सन्देश दिएका छन्। उनले बिरामीहरुलाई समयमै परामर्शका लागि गोदावरी अस्पताल सम्पर्क गर्न सुझाव दिएका छन्। साथै, उपचार सम्भव नभएमा उचित सल्लाह र सहयोग प्रदान गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय