उर्लाबारीस्थित गोदावरी अस्पतालमा ११ दिने नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ। बिहिबार अस्पतालको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच कोशी प्रदेशकी प्रदेश सभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले शिविरको उद्घाटन गरिन्।
गोदावरी अस्पताल र उर्लाबारी जेसीजको सहकार्यमा सुरु भएको सो शिविर ११ दिनसम्म सञ्चालन हुनेछ। “तपाईंको स्वास्थ्य, हाम्रो प्राथमिकता” भन्ने मूल नाराका साथ सञ्चालन भएको सो शिविर शनिबार बाहेक हरेक दिन बिहान ९ बजेबाट साँझ ५ बजेसम्म खुला रहनेछ।




कार्यक्रममा बोल्दै सांसद पालुङ्वाले महिलाहरू अझै पनि घरभित्र मात्रै सीमित रहँदा स्वास्थ्य जाँच गराउन नपाएर समस्यामा पर्ने अवस्थालाई यस्ता शिविरहरूले कम गर्न सहयोग पुर्याउने बताइन्। उनले आम जनतालाई शिविरको सेवा लिई लाभ उठाउन आग्रह गरिन्। साथै, उनले यस्ता कार्यक्रमले मातृ तथा नवजात शिशु मृत्युदर घटाउन समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्।

त्यस्तै अस्पतालका अध्यक्ष तथा कन्सल्टेण्ट फेमेली फिजिसीयन एवम् सर्जन डा. सूर्यनारायण शाहले मन्तव्य राख्ने क्रममा अस्पतालका सेवाहरुको बारेमा प्रष्ट्याएका छज् । उनले अस्पतालको २४ सै घण्टा ओपीडी सेवा, बालरोग, छालारोग, अतिविशेषज्ञ सेवा , शल्यकृया सेवा तथा रेडियोलोजी सेवा सञ्चालनमा रहेको जानकारी दिए। हाल स्वास्थ्य बीमा सेवा केही समयका लागि स्थगित भएतापनि चाँडै पुनः सुरु हुने जनाउँदै उनले अस्पताललाई सामाजिक उत्तरदायित्वसहितको उत्कृष्ट सेवा प्रदायक बनाउने लक्ष्य रहेको बताए। “अस्पतालमा हाल २५ बेड रहेका छन्, जसलाई विस्तार गरी ५० बेड पुर्याउने तयारी भइरहेको छ। एक वर्षदेखि आइसीयू सेवा पनि सञ्चालनमा रहेको” उनले जानकारी गराए।
शिविर उद्घाटन समारोहमा ७ नम्बर वडाकी वडाध्यक्ष उर्मिला थापा, नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखा सभापति भानु पराजुली, रोटरी क्लब उर्लाबारीका अध्यक्ष मुकुन्द निरौलालगायतले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक सोचको विकास हुने बताए।
कार्यक्रममा बोल्दै अस्पतालका सञ्चालक तथा युवा व्यवसायी सचिन शाक्यले नगर र वडाको सिफारिसमा गरिब तथा निमुखा नागरिकहरूलाई विशेष छुटमा उपचार सेवा दिइँदै आएको जानकारी गराए। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा एक वर्षका लागि ब्लड सुगर फास्टिङ र पीपी सेवा पूर्ण रूपमा निःशुल्क गरिएको संचालक शाक्यले जानकारी दिए ।
यता अस्पतालका प्रशासन प्रमुख धिरज निरौलाले स्वागत मन्तव्य राख्दै शिविरमा निःशुल्क ओपीडी सेवा, ब्लड सुगर फास्टिङ तथा पीपी सेवा उपलब्ध हुने बताए। उनका अनुसार सो शिविरबाट करिब १० हजारभन्दा बढी सेवाग्राही लाभान्वित हुनेछन्।
त्यस्तै, अन्य सेवामा पनि १० देखि २५ प्रतिशतसम्म छुट प्रदान गरिने जानकारी गराईएको छ । प्रयोगशाला परीक्षण, अपरेशन सेवा, बेड तथा राउन्ड शुल्कमा २५ प्रतिशत छुट, युएसजी र एक्स-रे सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।
हाल अस्पतालमा फिजिसियन, स्त्रीरोग, प्रसूति, हाडजोर्नी, नसारोग, नवजात तथा बालरोग, सर्जरी, छाला तथा यौन रोग, मानसिक रोग, मूत्र रोग, एनेस्थेसिया तथा पेन म्यानेजमेन्ट लगायतका सेवा भरपर्दो रूपमा उपलब्ध छन्।
अस्पतालका अध्यक्ष डा. शाहको अध्यक्षता रहेको उक्त शिविर उद्घाटन कार्यक्रमको संचालन उर्लाबारी जेसीजका कानुनी सल्लाहकार निशान भट्टराईले गरेका थिए।

तस्विरहरु: दिलीप पोखरेल/ उर्लाबारी




