काठमान्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई सहकारी ठगी प्रकरणमा थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ ।
सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका लामिछानेलाई थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई आज फेरी अनुमति दिएको हो ।
थुनामा राखी अनुसन्धान गर्न प्रहरीले अदालतबाट दोस्रो पटक पाएको म्याद गत साता बुधवार नै सकिएको थियो । तर तिहारको बिदा सुरु भएका कारण उनलाई पाँच दिनपछि मङ्गलवार अदालतमा पेस गरिएको हो ।
लामिछानेलाई अदालत लगिँदै गर्दा उनका समर्थकहरूलाई निषेधित क्षेत्र उल्लङ्घन खोजेपछि झडप भएको र प्रदर्शनकारीहरूलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्नुपरेको प्रहरीले जनाएको छ ।








