उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) नगर समिति उर्लाबारीको आयोजनामा ‘प्याव्सन स्पोट्स मिट २०८१’ सुरु भएको छ । आज एक कार्यक्रम गरी प्याव्सन खेलकुद मेलाको सुरुवात गरिएको हो । प्याव्सन नगर अध्यक्ष सूर्य पौडेलको अध्यक्षता र उर्लाबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख शालिग्राम काफ्लेको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा प्रमुख आतिथि काफ्लेसहित वडा नं. ९ का वडाध्यक्ष नरबहादुर मोक्तान, प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष पौडेलले तीन दिनसम्म सञ्चालन हुने खेल उत्सवमा छात्रछात्रा भलिबल, छात्र फुटबल र फुटसल र एकल टेबल टेनिस (छात्र÷छात्रा) खेलहरु हुने बताउनुभयो । प्याव्सन आवद्ध नगरका २२ विद्यालयका झण्डै एक हजार विद्यार्थीले सहभागिता जनाएको उहाँले बताउनुभयो ।




प्रतियोगिता अन्तर्गत छात्रा भलिबलमा ८ टिम, छात्र भलिबलमा १० टिम, १५ वर्षमुनिका विद्यार्थीबिचको फुटबलमा १७ टिम, ५ कक्षासम्मका विद्यार्थी सहभागी हुने फुटसलमा ११ टिमको सहभागिता रहेको नगर सचिव एलपी राईले बताउनुभयो । भलिबल र टेबलटेनिस उर्लाबारी–९ स्थित ओभल बोर्डिङ स्कुलमा, फुटबल अरनिको मावि उर्लाबारी–८ को खेलमैदानमा र फुटसल उर्लाबारी फुटसलमा खेलाइएको छ ।
स्पोर्टस् मिट सम्पन्न गर्न ५ लाख ७० हजार ६० रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको नगर प्याव्सनका कोषाध्यक्ष तथा खेलकुद कार्यक्रम संयोजक आनन्द कार्कीले जानकारी दिनुभयो । प्रवेश शुल्क र आन्तरिक संस्थागत कोषको प्रयोग गरेर खर्च गरिने उहाँले बताउनुभयो । प्रतियोगिताका विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
नगर प्याव्सनले विगत वर्षदेखि नै यस प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको र यस वर्षपनि निरन्तरता दिइएको निवर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार दिनेश पोख्रेलले बताउनुभयो । नगर स्तरीय प्रतियोगितामा उत्कृष्टता हासिल गर्ने विद्यार्थीहरुले जिल्ला स्तरीय प्रतियोगितामा सहभागिता जनाउन छन् । उद्घाटन कार्यक्रममा प्याव्सनका केन्द्रीय सदस्य केदार खनाल, निवर्तमान जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदी, निवर्तमान नगर अध्यक्ष दिनेश पोख्रेल, सञ्चार क्लब नेपालका अध्यक्ष कुमार खड्कालगायतको आतिथ्यता रहेको थियो । उद्घाटन कार्यक्रममा नगर सचिव एलपी राईको सञ्चालन र सदस्य मात्रिकाप्रसाद खतिवडाको स्वागत मन्तव्य रहेको थियो ।




