दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारी नगरपालिका वडा नम्बर ५ स्थित उर्लाबार‌ी चोकमा संचालित मोवाईल वर्ल्डमा चोरी भएको छ ।

सोमबार राति (बिहान करिव १ बजे) सो पसलबाट करिव ४ करोड रुपैयाभन्दा बढी मुल्य बराबरको मोवाईल चोरी भएको हो ।

सो पसलको सटर फोडेर चोरले मोबाईल लगी पसल रित्त्याइदिएको प्रहरीले जनाएको छ । ‘चोरले सबै मोबाइल लगेर पसल नै रित्त्याइदिएको पाइयो,’ प्रहरी स्रोतले भन्यो, ‘पसलमा महँगो मूल्य पर्ने मोबाइलहरु रहेछन् ।’

सोमबार बिहान करिव ९ बजे पसल खोल्न जाँदा सटर फुटाएर चोरी गरेको देखेपछि कार्कीले प्रहरीलाई घटनाको जानकारी गराएका थिए ।

 

पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको उक्त मोवाईल पसलमा गएराती भएको चोरीमा संलग्नको पहिचान हुन सकेको छैन । ‘चोरीको प्रकृति हेर्दा ठूलै गिरोह संलग्न रहेको अनुमान छ । पसलमा महँगा मोबाइलहरु रहेछन् । सबै मोबाइल चोरी भएका छन्,’ मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने, ‘सटरको ताला फुटाएर चोरी गरिएको छ । चोरीमा संलग्नको पहिचान भइसकेको छैन । विभिन्न कोणबाट अनुसन्धान अघि बढाएर घटनामा संलग्नको खोजी तीव्र पारिएको छ ।’

पसल सञ्चालक योगराज कार्कीले ४ करोड मूल्य बढीको मोबाईलहरु पसलबाट चोरी भएको जानकारी प्रहरीलाई दिएका छन् । कार्कीकाअनुसार आईफोन, सामसुङ, रेडमी, रियलमी, ओपोलगायत विभिन्न ब्राण्डका ४ सय ६५ भन्दा बढी मोबाईलहरु पसलमा राखिएको थियो ।

यस्तै पसलमा राखिएको ९ लाख नगद समेत चोरी भएको संचालक कार्कीले बताए ।

यता प्रहरीले पसलमा सीसी क्यामेरा भएतापनि सो क्यामेराको फुटेजबाट चोरीमा संलग्नको पहिचान गर्न नसकिरहेको बताएको छ ।

चोरीमा संलग्नको खोजी एवं पहिचानका लागि ईलाका प्रहरी कार्यालय पथरीबाट डीएसपी मोहनविक्रम दाहाल र ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट सई चूडामणि पौडेलको नेतृत्वमा संयुक्त टोली परिचालित भएको छ । प्रहरीले विभिन्न तरिकाबाट अनुसन्धानको दायरा बढाईरहेको पाईएको छ ।

यसैबिच प्रहरीले दिउसो करिव २ बजे उर्लाबारीस्थित मालबाँसे पेट्रोल पम्प अगाडीपट्टी महेन्द्र राजमार्गसँगै रहेको कल्भर्टमा बोरा र झोलामा राखि फ्याँकिएको अवस्थामा मोवाईलका बट्टा ( बक्स) , चार्जरलगायतका वस्तुहरु फेला पारेको छ । यस्तै अनुसन्धानमा खटिएको प्रहरीले सो स्थानदेखी पश्चिमपट्टि रहेको घाँसे झाँडीमा समेत बोरामा हाली फ्याकिएको अवस्थामा मोवाईलका चार्जर, बक्स र १ थान एन्ड्रोईड फोन फेला पारेको थियो । दुई पटक गरि प्रहरीले करिव २ सय थान मोवाईलको बक्स फेला पारेको जनाएको छ ।

यता सो पसलमा चोरी भएसँगै उर्लाबारीका व्यपारीहरुमा त्रास फैलिएको पाईएको छ । “प्रहरी कार्यालयदेखि १ सय ५० मिटरभन्दा कम दुरीमा करोडौँ मुल्य बराबरको भयानक चोरी भएको छ, हाम्रो व्यवसाय समेत धरापमा परेको छ । उर्लाबारीमा सुरक्षा व्यवस्था कमजोर भयो ” एक व्यपारी बताउछन् ।

यस्तै कट्वाल थरका अर्का व्यपारी भन्छन्, “दिनदिनै उर्लाबारीको व्यपार घट्दो छ, यस्तोमा बैंकको किस्ता हाल्नै मुस्किल भएको बेला चोकमै रहेको पसलमा चोरीको घटना हुनुले मनमा डर पैदा भएको छ । अब पसल बन्द गरेर कोठा जान समेत सोच्ने बेला आयो ।”

त्यस्तैगरी सो घटनाबारे उर्लाबारी उद्योग वाणिज्य संघद्वारा खेद प्रकट गर्दै यथाशीघ्र चोरीमा संलग्नको पहिचान गरि सार्वजनिक गर्न र उर्लाबारीमा शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन एक विज्ञप्ती जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय