यहि फागुन १५ गतेदेखि संचालन हुन लागेको उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सव २०८१ को तयारी तीव्र गतिमा भैरहेको छ ।
उर्लाबारी वडा नम्बर ४ स्थित नगर कार्यपालिकाको कार्यालयदेखि दक्षिणपट्टि रहेको खाली जमिनमा आयोजना हुने उक्त महोत्सवको उद्घाटन कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीद्वारा गरिने बताईएको छ । मंगलबार महोत्सव स्थलमा आयोजित एक पत्रकार सम्मेलनबीच सोबारे आयोजकले जानकारी गराएको हो ।




उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरिङ लिम्बूको अध्यक्षतामा सम्पन्न सो सम्मेलनमा महोत्सवबारे विस्तृत जानकारी गराईएको छ । महोत्सवमा कृषिजन्य वस्तु, खाना तथा घरेलु उत्पादन, हस्तकला तथा गार्मेन्ट, फुटवेयर, अटोमोवाइल्स, इलेक्ट्रोनिक्स, फर्निचर तथा फर्निसिङ, जडीबुटी, औषधिजन्य वस्तु तथा निर्माण सामग्री , सांस्कृतिक प्रदर्शनी, बाल उद्यान तथा मनोरञ्जनात्मक खेल तमासाहरु प्रदर्शनीमा राखिने बताईएको छ ।


यस्तै प्रदर्शकहरूका लागि प्रदर्शनी वस्तुहरूको बीमा, २४ घण्टा सुरक्षा व्यवस्था, महोत्सव स्थलमा निःशुल्क इन्टरनेट सेवा, स्थानीय पत्रपत्रिकाको निःशुल्क वितरण, उत्कृष्ट स्टललाई सम्मान र पुरस्कार वितरण रहेका छन् ।
महोत्सवको आकर्षणको रूपमा राष्ट्रिय तथा स्थानीय कलाकारहरू दैनिक रूपमा प्रस्तुति दिनेछन्। फागुन १५ गते राजनराज शिवाकोटी, नन्दु गुरुङ, फागुन १६ गते कमल खत्री, द्रव्य ब्याण्ड, फागुन १७ गते अस्मिता अधिकारी, महेश काफ्ले, फागुन १८ गते समीक्षा अधिकारी, डम्बर नेपाली, फागुन १९ गते मेलिना राई, सुरेश धिमाल, फागुन २० गते दुर्गेश थापा र तारावीर पाण्डे ,फागुन २१ गते शान्तारानी परियार र भाइबर साइमन, फागुन २२ गते टीका प्रसाई र द मिराकल ब्यान्ड , फागुन २३ गते रचना रिमाल र निशान भट्टराई , फागुन २४ गते ज्योति मगर र जन्तरा ब्यान्ड , फागुन २५ गते रकहेड ब्याण्ड रहेको जनाइएको छ। साथै लोप हुँदै गएको रोटे पिङ समेत महोत्सवमा मनोरञ्जनका लागि राखिने आयोजकले जनाएको छ ।
वाणिज्य संघको आयोजनामा हुने उक्त महोत्सवबाट बचत भएको रकमले फायर एक्टिङग्युसर रीफिल गर्ने मेसिन खरिद गर्ने लक्ष्य लिईएको आयोजकले जनाएको छ। उक्त मेसिन खरिद गरिएपछि वाणिज्य संघले व्यवसायीक उद्योग तथा पसलहरुमा राखिएका फायर एक्टिङग्युसर मेसिनमा नि:शुल्क रीफिल गरिदिने जनाईएको छ ।
फागुन २५ गतेसम्म संचालन हुने सो महोत्सवमा करिव १५ करोड बराबरको कारोबार हुने अनुमान गरिएको छ । यस्तै सो महोत्सवको अवलोकन करिव ३ लाख जनाले गर्ने अनुमान लिईएको महोत्सव संयोजक भरत भट्टराईले जानकारी दिए । साथै उनले सो महोत्सवको अनुमानित खर्च करिव ८० लाख भन्दा बढि हुनसक्ने बताए ।
हरेक दिन साँझ ५ बजेसम्म नि:शुल्क प्रवेश गरिने सो महोत्सवको रात्रीकालिन सांगेतिक कार्यक्रममा प्रवेश दर १ सय ५० रुपैया तोकिएको छ ।
त्यस्तैगरी उक्त महोत्सवको प्रायोजक तथा साझेदारहरूमा मुख्य प्रायोजक आई जोन इन्टरनेट, सह-प्रायोजकहरूमा पिएलओ लुब्रिकेन्ट्स, पेप्सी, टुवोर्ग, सोल्टी वेस्टइन्ड इटहरी, विवाडी, सिएट टायर्स, फोटन, मार्भेल, आर एई अग्नि इनकर्पोरेटेड, साङ्ग्रिला चप्पल, सेनिट्याव रहेका छन् ।
त्यस्तैगरी संघका अध्यक्ष लिम्बुले सो कार्यक्रममा कुनै गेट पास नराखिएको बताएका छन् । उनले भने,” हामीले यसपटक कुनै गेटपास राखेका छैनौँ । संघले विक्री गर्दै आएको महोत्सवको टी-सर्ट लगाउने महानुभावलाई मात्र रात्रीकालिन कार्यक्रममा प्रवेश नि:शुल्क गरिएको छ । टी-सर्ट नै गेट पनस सरह हो ।” साथै उनले २ हजार १ सय रुपैयामा उक्त टी-सर्ट खरिद गर्न समेत अनुरोध गरेका छन् ।
उक्त पत्रकार सम्मेलनमा संयोजक भट्टराईले महोत्सवको तयारी तिव्र पारिएको बताउदै सो महोत्सवले उर्लाबारी क्षेत्रको व्यापार, पर्यटन, कृषि र स्थानीय संस्कृतिलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान दिने बताएका छन् ।
संघकी महासचिव सम्झना खतिवडाले संचालन गरेको सो कार्यक्रममा वडा नम्बर ७ की वडाध्यक्ष उर्मिला थापा, संघका पुर्व अध्यक्ष शेरबहादुर भण्डारी, संघका वर्तमान कार्यसमितीका पदाधिकारीलगायत पत्रकारहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।




