धरान
सुनसरीको पञ्चकन्या जंगलमा हत्या गरि फलिएको अवस्थामा फेला परेकी धनकुटा महालक्ष्मी कि चुनकुमारी बुढाथोकीको हत्यामा सम्लग्न रहेको भन्दै प्रहरीले ६ जनालाई सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय धरानमा बिहिबार पत्रकार सम्मेलन गर्दे जिल्ला प्रहरी प्रमुख एवं एसपी सुमनकुमार तिम्सिनाले मृतक चुनकुमारीकै श्रीमान् प्रेमबहादुर बुढाथोकीको योजना र निर्देशनमा हत्या भएको जानकारी दिए । पारिवारिक विवाद र श्रीमान श्रीमतिबीचको असन्तुष्टीबाट घटना श्रृंखला भएको प्रहरीको भनाई छ ।
हत्या प्रकरणमा पक्राउ पर्नेहरु घरपरिवारकै सदस्यहरु रहेका छन् ।

पक्राउ पर्नेमा घटनाको मुख्य योजनाकार मृतकका श्रीमान धनकुटाको महालक्ष्मी नगरपालिका २ का ३१ बर्षीय प्रेमबहादुर बुढाथोकी, मोरङ पथरी शनिश्चरे नगरपालिका ३ संगमचोक बस्ने मुख्य योजनाकार प्रेमको आफ्नै भाई २९ बर्षीय ढकेन्द्र बुढाथोकी र उनकी श्रीमति २५ बर्षीय सृष्टी बुढाथोकी, पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ लुमाङदिङ घर भई विगत ७ बर्षदेखि मोरङको उर्लाबारी नगरपालिका ५ फागुटोल बस्ने ३६ बर्षीय योगेन्द्र गौतम उनकी श्रीमति २८ बर्षीय डेनु गौतम र मोरङकै पथरी शनिश्चरे वडा नं ३ का ४० बर्षीय केशवराज दाहाल रहेका छन् । । प्रेम बहादुर वैदेशीक रोजगारीका सिलसिलामा दक्षिण कोरियामा रहेका र उनी त्यहा रहदा नै श्रीमति चुनकुमारीलाई हत्या गर्ने योजना बनाएको पनि प्रहरीको भनाई छ । पक्राउ परेका गौतम योजनाकार बुढाथोकीका कान्छा ज्वाइ र बहिनी रहेका छन् भने सहयोगीका रुपमा पक्राउ परेका दाहाल पथरीशनिश्चरे नगरपालिकाका कर्मचारी रहेको प्रहरीले जनाएको छ ।
चुनकुमारी हत्या प्रकरणमा श्रीमान सहित ७ जना संलग्न भएका मध्ये ६ जना पक्राउ परेका छन् । घटनामा संलग्न भारतीय नागरिक आसाम राज्यको तेजपुर खकन बस्तीका ३५ बर्षीय राजु थापा मगर भने फरार छन् । उनी हत्या प्रकरणमा पक्राउ परेकी सृष्टीको दाजु भएको पनि प्रहरीको भनाई छ । उनी मुख्य योजनाकार प्रेमको भाई बुहारी। उनलाई पनि पक्राउ गरेर ल्याउन भारतीय प्रहरीसँग आवश्यक समन्वय र पहल भइरहेको धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए ।
मृतकका श्रीमान् प्रेमलाई कोरीयाबाट आएलगत्तै प्रहरीले काठमाण्डौं विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार चुनकुमारीको शव चैत २५ गते मध्याह्न साढे १२ बजे स्थानीयले देखेर खबर गरेका थिए । उनको हत्या अघिल्लो राती नै कुटपिट गरेर भएको अनुसन्धानबाट खुलेको पनि प्रहरीले जनाएको छ । श्रीमान ले श्रीमतिलाई परपुरुषसँगको सम्बन्ध भएको शंक गर्ने र उनीहरुबीच सम्बन्ध बिग्रदै गएर जघन्य हत्या हुन पुगेको एसपी सुमन कुमार तिम्सिनाले जानकारी दिए ।

प्रहरीका अनुसार चैत २९ गते ढकेन्द्र बुढाथोकी, उनको श्रीमति सृष्टी बुढाथोकी, डोनु बुढाथोकी र केशवराज दाहाल लाई उनीहरुकै घरबाट पक्राउ परेका थिए भने चैत ३० गते योगेन्द्र गौतमलाई नेपाल भारत सिमाना काकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस्तै, मुख्य योजनाकार मृतकको श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई घरपरिवारसँग समन्वय गरी नेपाल झिकाएको र बैशाख ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको ३ वटा मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पुर्वयोजना अनुसार नै मृतकको छोरालाई अघिल्लो दिन पहाड घर पठाएर मृतकलाई श्रीमान्ले आफन्त भेट्न पठाएको र योजना वमोजिम राती जंगलमा ल्याएर कुटपिट गरी हत्या गरेको डिएसपी जबेगुले बताए । हत्या गराउनकै लागि आर्थिक प्रलोभन देखाएर भारतको असमबाट प्रेमको भाई बुहारी सृष्टीको दाजु राजु थापा मगरलाई बोलाएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय