उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाले सीमान्तकृत सन्थाल समुदायलाई परम्परागत पहिरन तयार पार्ने सीप विकास थालनी गरेको छ ।
उर्लाबारीमा बसोबास गर्दै आएका सन्थाल समुदायको मौलिक पहिरनलाई सहज र सुलभ तुल्याउन नगरपालिकाले सहयोगका कार्यक्रम अघि बढाएको उपप्रमुख मीना खतिवडा पौडेलले बताउनु भयो ।
परम्परागत पहिरनले समाजमा संस्कारको विकास गराउँने भन्दै संरक्षण र महिला सशक्तिकरणका कार्यक्रम ल्याइएको पौडेलको भनाई छ ।
उर्लाबारी–८ कदमटोलीमा सघन बसोबास रहेको सन्थाल समुदायलाई नगरपालिकाले भारतको कलकत्ताबाट आयात गरी पन्चि (सन्थाल जातीय पहिरन) बुन्ने मेशिन उपलब्ध गराएको हो ।
नगरपालिकाकी सामाजिक विकास अधिकृत चन्द्रकला सुब्बाका अनुसार तीनवटा शीर्षकमा सन्थाल महिलाको सबलीकरणका लागि कार्यक्रम तय गरिएको छ । प्रविधि हस्तान्तरण अन्तर्गत छ लाख ५० हजार खर्चिएर पन्चि बुन्ने मेशिन, तीन लाख बराबरको सीपमुलक तालिम र टेवा पुँजीका रुपमा रु.६० हजार समुदायमा उपलब्ध गराइएको सुब्बाले जानकारी दिनुभयो ।
सन्थालहरुको जातीय संस्था ‘जाहेरमान मज्यीयान’ सामुदायिक केन्द्रमा नगर उपप्रमुख पौडेल, अधिकृत सुब्बा, लैङ्गिक हिंसाविरुद्धकी परामर्शदाता जानकी कुवँरलगायतले पन्चि बुन्ने प्रविधि उपकरण र तालिमको निरीक्षण तथा अनुगमन गरेका छन् ।
नगरपालिका कार्यालयबाट उपलब्ध गराइएको मेशिनमार्फत २० जना महिलालाई पन्चि तथा पालाहान्दा बुन्ने एक महिने तालिममा समेटिएको छ । भारत पश्चिम बंगालबाट आमन्त्रित प्रशिक्षक तराक बसोकले संथाल महिलाहरुलाई मेशिन चलाउने र कपडा बुन्ने तौरतरिकामा सहजीकरण गरिरहनु भएको छ ।








