उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–५ मा मगलबार शनिदेव मन्दिरको शिलान्यास गरिएको छ ।
कोशी प्रदेशसभा सदस्य तथा नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलकी सचेतक शोभा चेम्जोङ पालुङ्वाले मन्दिरको शिलान्यास गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चेम्जोङले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन आवश्यक रहेको बताउँदै मन्दिर निर्माणले समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष रविन लामा, सामाजिक व्यक्तित्व ललित अधिकारी, माओवादी केन्द्र उर्लाबारी अध्यक्ष गजेन्द्र दंगाल, जसपा उर्लाबारी अध्यक्ष मात्रिका धिमाललगायतले मन्दिर निर्माणको आवश्यकतामाथि जोड दिनुभएको थियो। वक्ताहरूले शनिदेव मन्दिरले उर्लाबारीमा धार्मिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा उर्लाबारी–६ का वडाध्यक्ष चिन्तामणि पौडेल, युवा व्यवसायी सचिन शाक्य, सञ्चार क्लब नेपालका संस्थापक अध्यक्ष दुर्गाप्रसाद खतिवडा लगायतको उपस्थिति रहेको थियो ।
मन्दिर निर्माणका लागि उर्लाबारी–५ निवासी सामाजिक व्यक्तित्व धर्मप्रसाद भण्डारी र गोपालप्रसाद भण्डारीको परिवारले १ कट्ठा जग्गा निःशुल्क प्रदान गरेका हुन । उनीहरूको योगदानलाई कार्यक्रममा विशेष सम्मानका साथ स्मरण गरिएको थियो ।
कार्यक्रममा जेष्ठ नागरिक र जेष्ठ एकल महिलालाई सम्मान गरिएको थियो । मन्दिर निर्माण समितिकी अध्यक्ष तारा रिजाल चौलागाईको सभापतित्वमा सम्पन्न भएको थियो ।








