उर्लाबारी । उर्लाबारीमा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुको नगरस्तरीय सञ्जाल (रिटर्नी) पुनः गठन गरिएको छ । नवगठित समितिको अध्यक्षमा सन्तोष दाहाल चयन भएका छन् ।
उर्लाबारी नगरपालिका रोजगार सेवा केन्द्र र रेमी परियोजनाको संयुक्त आयोजनामा भएको भेलाले दाहालको अध्यक्षतामा ११ सदस्यीय नगर स्तरीय सञ्जाल गठन गरेको हो ।
समितिको उपाध्यक्षमा आतिष श्रेष्ठ, सचिवमा भानु पौडेल, सहसचिवमा विष्णुमाया खोक्रेल, कोषाध्यक्षमा हेमकुमारी मुडवरी चयन भएका छन् । सदस्यमा देवेन्द्र कार्की, तेजप्रकाश आचार्य, रमेश निरौला, गोपाल भट्टराई, रत्नराज मोक्तान र जनक सिग्देल रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेलले वैदेशिक रोजगारीमा जानुअघि आवश्यक पर्ने जानकारी, विदेशमा समस्या परेमा के गर्ने र फर्किएपछि के गर्न सकिन्छ भन्ने जस्ता विषयमा रेमी परियोजनाले ज्ञान प्रदान गर्दै आएको बताए।
कार्यक्रमको अध्यक्षता गरेका नगर स्तरीय सञ्जालका निवर्तमान अध्यक्ष छवि दाहालले विगत दुई वर्षदेखि वैदेशिक रोजगारमा रहेका परिवारहरूको हकहितमा रेमी परियोजनाले निरन्तर काम गर्दै आएको जानकारी दिए ।
उनले ९ वटै वडामा समिति गठन भइसकेको, तालिम, समस्या समाधान तथा वैदेशिक रोजगारमा समस्यामा परेका व्यक्तिहरुको उद्धार गरिएको पनि बताए । उनले नेपालबाट दैनिक २५ सय युवा विदेशिने तथा पाँचदेखि सात वटा शव दैनिक रूपमा नेपाल भित्रिने दुःखद यथार्थतर्फ पनि ध्यानाकर्षण गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय