पथरीशनिश्चरे र उर्लाबारी नगरपालिकालाई जोड्ने सुनझोडा खोलामा मोटरेबल पुलको शिलान्यास गरिएको छ। शनिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय डिगबहादुर लिम्बू र सुनिल शर्माले संयुक्त रूपमा शिलान्यास गरेका हुन्।
संघीय सरकारको ५६ करोड ८ लाख ९३ हजार रुपैयाँको लागतमा बन्ने सो पुलको निर्माणको जिम्मा कार्की बन्धु कन्स्ट्रक्सन प्रालि, विराटनगरले लिएको छ। निर्माण कार्य २०८३ साल चैत ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित २०८२ साल जेठ ८ गते ठेक्का सम्झौता गरिएको हो।




पुल बन्ने निश्चित भएसँगै आज विहान उर्लाबारी–३ चन्दनेका स्थानीयवासीले सांसद लिम्बूलाई बाजागाजा र फूलमालासहित भव्य स्वागत गरेका थिए। सो अवसरमा सांसद लिम्बू र प्रदेशसभा सदस्य शोभा चेम्जोङ पालुङ्वाले मंगलबारेस्थित अस्थायी प्रहरी चौकीमा रहेको कालिमाता मन्दिरको दर्शनसमेत गरेका थिए।
पुल निर्माणको खुशीमा सांसद लिम्बू र अन्य प्रतिनिधिहरू स्थानीय घरघरमा पुगेर खुसी साट्दै करिब ६ सय मिटर पैदल हिँडेर कार्यक्रम स्थल पुगेका थिए।
कार्यक्रम स्थल खोलाको पारिपट्टि पथरीशनिश्चरे-२ मा भएकाले सांसदद्वय लिम्बु र पालुङ्वा र उर्लाबारी- ३ का वडाध्यक्ष भिष्मराज बुढाथोकीलगायत अन्य प्रतिनिधिहरूले जोखिम मोलेर खोलामा आएको बाढी पार गरेका थिए।
उता स्थानीय नेता, कार्यकर्ता र बासिन्दालाई भने जेसीभी र ट्रयाक्टरको सहायताले खोलापार गराइएको थियो।

पुल शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य मानबहादुर लिम्बू, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, पथरीशनिश्चरेका मेयर मोहन तुम्बापो, उर्लाबारी नगर उपमेयर मीना खतिवडा पौडेललगायत जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
पुल निर्माणपछि पथरी र उर्लाबारीबीच व्यापार, पर्यटन तथा अन्य क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुग्ने स्थानीयको विश्वास छ। सांसद लिम्बुका स्वकीय सचिव साजन कुँवरका अनुसार पुल निर्माणले करिब १० हजार स्थानीयवासी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन्।




