सिरहा,
सिरहा नगरपालिकाको सहयोग र सलहेश युवा क्लब सिराहाको आयोजनामा शहीद हेमनारायण गोल्डकप फुटबल प्रतियोगिता सिरहा नगरपालिका–७ स्थित सिरहा क्याम्पसको खेल मैदानमा सुरु हुने भएको छ। आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ १९ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने जानकारी दिएको छ।

प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ। चित्लाङ फुटबल क्लब काठमाडौं, चात्याँसा फुटबल क्लब झापा, न्यू स्टार युथ क्लब सुनसरी, वीरगञ्ज युनाइटेड पर्सा, बागमती युवा क्लब सर्लाही, गाईघाट फुटबल क्लब उदयपुर, गोलबजार स्पोर्ट्स क्लब सिरहा र आयोजक सलहेश युवा क्लब सिरहाले सहभागिता जनाउने छन्।

गोल्डकपका संयोजक रजिप कुमार यादवका अनुसार, प्रतियोगिताको विजेता टिमले नगद दुई लाख रुपैयाँ, उपविजेताले एक लाख रुपैयाँसहित गोल्डकप ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, प्रत्येक खेलको ‘प्लेयर अफ दी म्याच’ लाई पुरस्कार प्रदान गरिनेछ। उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता पनि नगद पुरस्कार र ट्रफीसहित सम्मानित गरिने बताइएको छ।

सलहेश युवा क्लबका अध्यक्ष यादवले प्रतियोगिताको उद्देश्य सिरहा जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने खेलाडी उत्पादन गर्नुका साथै राजा सलहेशको नामलाई खेलकुदको माध्यमबाट चिनाउने रहेको बताए।

“खेलमार्फत पर्यटनको प्रवर्द्धन गर्नुका साथै युवाहरूलाई कुलतबाट जोगाउनु हाम्रो उद्देश्य हो,” अध्यक्ष यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय