रतुवामाई । जनताको स्वास्थ्यप्रति गम्भीर चासो राख्दै मोरङको रतुवामाई नगरपालिकाले तीन दिने विशेष स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
आर्थिक तथा भौगोलिक दृष्टिले चुनौतीपूर्ण ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लक्षित शिविरबाट पाँच हजारभन्दा बढीले सेवा लिने अपेक्षा गरिएको छ ।
नगरपालिकाले नोबेल मेडिकल कलेजको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिरहेको छ ।
शिविरमा विशेषज्ञ चिकित्सकहरूको टोलीमार्फत ल्याब परीक्षणसहित ११ प्रकारका रोगहरूको निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण गरिने रतुवामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डम्बरु बल्लव बरालले बताए ।
बरालले भने–“हामीले गाउँमै विशेषज्ञ डाक्टर पुर्‍याएर, स्वास्थ्य परीक्षणको अवसर उपलब्ध गराएका छौं, यो कार्यक्रम जनताको स्वास्थ्यप्रति हाम्रो जिम्मेवारीको भाग हो भन्ने हाम्रो बुझाई हो ।”
भारतसँग सिमाना जोडिएको यो गाउँमुखी पालिकामा अधिकांश नागरिक निम्न आर्थिक अवस्थाका छन् । नियमित स्वास्थ्य सेवा नपाउने तिनै बासिन्दालाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन गरिएको रतुवामाई नगरपालिकाका मेयर तथा कार्यक्रममा सभापति नागेश्वर प्रसाद सिंह गन्गाईले बताए ।
गन्गाईले भने–“जनताको स्वास्थ्य पहिलो प्राथमिकता हो, सेवा लिन नसक्ने ठाउँसम्म पुगेर स्वास्थ्य सेवा दिनु नै स्थानीय सरकारको काम हो भन्ने विश्वासका साथ हामी यो शिविर सञ्चालन गरेका छौं ।”
शिविर जेठ १९ गतेदेखि सुरु भई, जेठ २० गते सौठा बहुमुखी क्याम्पस र जेठ २३ गते सर्वेश्वर शिवालय मन्दिर, भौडाहामा सञ्चालन हुनेछ । शिविरमा मेडिसिन, सर्जरी, प्रसूति तथा स्त्रीरोग, बालरोग, नेत्ररोग, हाडजोर्नी रोग, नाक–कान–घाँटी, मुटुका रोग सम्बन्धी परीक्षण, प्रयोगशालामा रगत तथा पिसाब परीक्षण, रेडियोलोजिकल जाँच, साथै दन्त चिकित्सा जस्ता ११ प्रकारका सेवाहरू उपलब्ध हुनेछन् ।
शिविरपछि जटिल प्रकृतिका रोग भएका बिरामीलाई नोबेल मेडिकल कलेजमा ५०% छुट र काठमाडौं मेडिकल कलेजमा निःशुल्क उपचारको व्यवस्था सहमति भएको नोबेल मेडिकल कलेजका बजार व्यावस्थापक नबीन दहालले बताए ।
शिविरको पहिलो दिनमै करिब १ हजार जनाले सेवा लिएका छन् । गाउँमै विशेषज्ञ डाक्टर आएर उपचार र औषधि पाउँदा स्थानीय सेवाग्राही खुसी हुदै भने– “ठुलो अस्पताल जान बिराटनगर, धरान धाउनु पर्छ, भाडामा नै १ खाने औषधीको पैसा सकिन्छन्, डाक्टर आफै गाउँ आउनुभयो, चेकजाँच पनि भयो, औषधि नि पाइयो, धेरै राम्रो लाग्यो ।”
शिविर बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ । नगरपालिकाले सबै नागरिकलाई सेवा लिन अनुरोध गरेको छ । कार्यक्रममा नगर उप–प्रमुख दमयन्ता देवी चुडाल, नगर अस्पतालका डाक्टर लगाएत वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो ।
स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने यो कदमले स्थानीय तहले जनताको हक र आवश्यकताप्रति कति उत्तरदायी छन् भन्ने देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय