उर्लाबारी । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याव्सन) उर्लाबारी नगर समितिले शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धिका लागि विषयगत तालिम सुरु गरेको छ ।
पहिलो दिन गणित विषयमा केन्द्रित तालिम उर्लाबारी–७ स्थित भृकुटी मोडल एकाडेमीमा सम्पन्न भयो ।
प्याव्सनले आफ्‌नो संगठनमा आवद्ध विद्यालयका शिक्षकहरुको दक्षता अभिवृद्धिका लागि तालिम सञ्चालन गरेको जनाएको छ ।
तालिममा प्याव्सनमा आबद्ध विद्यालयहरूबाट कक्षा ५ देखि १० सम्म गणित विषय अध्यापनरत ३७ जना शिक्षक, शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
तालिमका सहजकर्ता विद्याभूषण गुप्ताले गणित विषयको पाठ्यक्रम, शिक्षण विधि, व्यवहारिक पक्षका बारेमा सहजीकरण गर्नुभएको थियो ।
प्याव्सन उर्लाबारी नगर अध्यक्ष सूर्य पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराई प्रमुख अतिथि रहनुभएको थियो । प्रमुख अतिथि भट्टराईले प्याव्सन नगर समितिको यो पहलले विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्याव्सन प्रदेश सदस्य दिनेश पोख्रेल, जिल्ला सल्लाहकार सुरेन्द्र सुवेदी, जिल्ला सदस्य नेत्रप्रसाद गड्तौला, भृकुटी मोडल एकाडेमीका निर्देशक अमर काफ्ले लगायतको आतिथ्यता रहेको थियो ।
नगर अध्यक्ष पौडेलले सबै अनिवार्य विषयहरूको तालिम यसै महिनाभित्र सम्पन्न गरिने बताउनुभयो ।
यस्तै नगर सचिव लक्ष्मीप्रसाद राईले शिक्षकको दक्षता अभिवृद्धि र शिक्षण विधिमा नवीनता ल्याउन यस्ता तालिमहरू आवश्यक छन् र प्याव्सनले सबै अनिवार्य विषयहरूको तालिम यही महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय