
कृषि यान्त्रीकरणमा ऐतिहासिक कदम : ५०% अनुदानमा आधुनिक उपकरण वितरण
मोरङ, रतुवामाई । “कृषि विकास र भौतिक पूर्वाधारको लहर, रतुवामाई नगरपालिकालाई समृद्ध बनाउने हाम्रो रहर“ भन्ने मूल नारासहित रतुवामाई नगरपालिकाले किसान लक्षित कार्यक्रम अन्तर्गत आधुनिक कृषि यान्त्रिक सामग्री वितरण गर्दै ऐतिहासिक पहल सुरु गरेको छ।
नगरप्रमुख नागेश्वर प्रसाद सिह गन्गाईका अनुसार कृषिलाई व्यवसायिक बनाउँदै आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा कृषि यन्त्र वितरण गरिँदैछ। “किसान आत्मनिर्भर बने, नगर समृद्ध बन्छ भन्ने योजनासहित हामी अघि बढिरहेका छौं,“
रतुवामाई नगरपालिका मोरङका १७ स्थानीय तहहरूमध्ये कृषि उत्पादनमा अग्रणी रहँदै आएको उपजाऊ भूमि भएको क्षेत्र हो। यहाँका अधिकांश खेतमा कुलोमार्फत सिँचाइ पुगेको छ भने डाँडामा समेत नगरपालिका आफैले निःशुल्क सिँचाइ महशुल तिरेर पम्पबाट पानी पुर्याउने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लभ बरालले जानकारी दिनुभयो।
उत्पादन र आत्मनिर्भरता दुवैमा सशक्त प्रगति
रतुवामाईका किसानहरूले धान, मकै, गहुँ, तोरीजस्ता खाद्यबालीमा आत्मनिर्भरता हासिल गरेका छन्। उनीहरूको यसै मेहनतलाई प्रविधिको साथले थप बलियो बनाउने लक्ष्यसहित चालु आर्थिक वर्षको बजेटबाट करीब १ करोड १० लाख रुपैयाँ बराबरका यान्त्रिक उपकरण वितरण गरिएको हो।
जसअनुसार नगरपालिकाले १५० थान च्यापकर, ३० स्प्रे ट्याङ्की, ११२ मकै छोडाउने मेसिन र १६५ थान मकै रोप्ने मेसिन वितरण गरेको छ।
वडा नं. १० का वडाध्यक्ष एवम् नगर प्रवक्ता भुल बहादुर कार्कीका अनुसार १० वटै वडाका किसान तथा चार वटा कृषक समूहलाई लक्षित गरी यन्त्र वितरण गरिएको हो। “हामी प्रत्येक वर्ष वडास्तरमा पनि किसानका समस्याहरू बुझेर आवश्यक उपकरण प्रदान गर्दै आएका छौं,“
किसान भन्छन– “हामीसँग माटोसँग भिजेका प्रतिनिधि छन“
कृषिमा प्रविधिको पहुँच विस्तार गर्दै नगरपालिकाले किसानलाई आत्मनिर्भर र समृद्ध बनाउने लक्ष्य लिएकोमा किसानहरू उत्साहित देखिएका छन्। उनीहरू भन्छन्, “हामीसँग माटोसँग भिजेका प्रतिनिधिहरू छन्, हामी अब प्रविधिसँगको साझेदारीमा अझै सफल हुन्छौं।“
रतुवामाई नगरपालिकाको यो पहलले कृषि आधुनिकीकरणको यात्रा सुरु गर्दै समृद्ध नगर निर्माणतर्फ ठोस पाइला चालेको छ। यहाँको उर्वर भूमिमा प्रविधिको मलजल थपिएपछि समृद्धिको मुस्कान अझै चौडा हुने किसानहरूको विश्वास छ।



