उर्लाबारी । मोरङको उर्लाबारीमा संचालित चौथो डुम्रे कप अन्तरविद्यालयस्तरीय फुटबल प्रतियोगिताको उपाधि उर्लाबारी–२ स्थित सुनपकुवा माध्यमिक विद्यालयले जितेको छ ।
मंगलबार सम्पन्न फाइनल खेलमा सुनपकुवा माविले हिमचुली बोर्डिङ स्कूललाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगिताको च्याम्पियन बनेको हो । सो खेलमा सुनपकुवाका अनुप लिम्बूले २ गोल, सौगात धिमाल ,विजय लिम्बू र असिम लामा(मेस्सी) ले १/१ गोल गरेका थिए । आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेका सुनपकुवाका अनुप लिम्बू खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । विजेता सुनपकुवाले ट्रफी , मेडल र प्रमाणपत्रसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै उपविजेता हिमचुली बोर्डिङले १५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उक्त पुरस्कार उर्लाबारी नगरपालिकाकी उप प्रमुख मिना खतिवडा पौडेल र नगर प्रवक्ता समेत रहेका वडा नं. ३ का वडा अध्यक्ष भिष्मराज बुढाथोकीले वितरण गरेका थिए ।
सो अवसरमा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई समेत सम्मान गरिएको थियो। ‘फेयर प्ले’ अवार्ड शिशु शिक्षा सदन उर्लाबारी–९ ले प्राप्त गर्‍यो । उत्कृष्ट गोलकिपर मोरङ मोडेलका सविन लावती, उत्कृष्ट डिफेन्डर सुनपकुवाका रमेश चौधरी, उत्कृष्ट मिडफिल्डर मोरङ मोडेलका एन्जल बोहोरा, उत्कृष्ट स्ट्राइकर सुनपकुवाका सौगात धिमाल, सर्वाधिक गोलकर्ता (हाई स्कोरर) सुनपकुवाका असिम लामा र टुर्नामेन्टको उत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) हिमचुलीका सौरभ भण्डारी घोषित भए । उनीहरुले नगद र ट्रफी हात पारे ।
गत जेठ १५ गतेदेखि सुरु भएको उक्त प्रतियोगिता उर्लाबारी–२ डुम्रेस्थित डुम्रे खेल मैदानमा सञ्चालन भएको थियो। प्रतियोगितामा उर्लाबारी क्षेत्रका सामुदायिक तथा निजी विद्यालय गरी २३ वटा विद्यालयको सहभागिता रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगिता हरियाली युवा क्लबको आयोजनामा ‘‘खेलकुदमा एकता, हरियालीको पहल सशक्तता’’ भन्ने मूल नारासहित सम्पन्न गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय