उर्लाबारी–३ स्थित मंगलबारे यातायात प्रा. लि. ले आफ्नो स्थापनाको एक वर्ष पूरा भएको अवसरमा यातायातमा आबद्ध चालकहरूलाई नि:शुल्क टि-शर्ट वितरण गरेको छ।
आईतबार उर्लाबारी -३ को थापा चोकमा आयोजित एक कार्यक्रममा वडाध्यक्ष भिष्मराज बुढाथोकी र ट्राफिक प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी सहायक निरीक्षक अशोककुमार चौधरीले ५० थान टि-शर्ट वितरण गरेका छन्।




कार्यक्रममा वडाध्यक्ष बुढाथोकीले सफारी तथा अटो चालकहरूलाई सेवा प्रवाहमा अझ बढी सहज र सुलभ बन्न आग्रह गरे। नगर प्रवक्ता समेत रहेका वडाध्यक्ष बुढाथोकीले मंगलबारे क्षेत्रमा लागु भाडा दरलाई आधार मानी उर्लाबारीका अन्य क्षेत्रहरूमा समेत सुलभ भाडा दर निर्धारणको आवश्यकताबारे औंल्याउँदै भने, “पालिकाले यस सम्बन्धमा अध्ययन गरिरहेको छ। सर्वपक्षीय छलफलपछि अन्य स्थानमा समेत सुलभ दरमा मूल्य निर्धारण गरिनेछ।”
त्यसैगरी, ट्राफिक प्रमुख चौधरीले सडक दुर्घटना न्यूनीकरण, ट्राफिक नियमको पालना, र यात्रुको सुरक्षाबारे चालकहरूलाई सचेत गराएका थिए।
वि.सं. २०८१ असार १ गते स्थापना भएको संस्थामा हाल ३५ वटा सिटी सफारी तथा अटो रिक्साहरू आबद्ध रहेको यातायात प्रा. लि. का अध्यक्ष दिपक कुमार मगरले बताए ।
उक्त संस्थाले दैनिक रूपमा प्रत्येक चालकबाट २० रुपैयाँ बचत संकलन गर्दै आएको छ। अध्यक्ष मगरकाअनुसार संकलित रकम सवारी दुर्घटनाको अवस्थामा चालकको उपचार खर्च तथा सवारी मर्मतमा प्रयोग गरिन्छ। यस्तै गम्भीर अवस्थामा भने एकपटकमा ५० हजार रुपैयाँसम्म भुक्तानी दिने गरिएको उनले बताए ।
सो संस्थाले स्थानीय मन्दिर निर्माणदेखि खेलकुद क्षेत्रमा समेत सहयोग गर्दै आएको अध्यक्ष मगरले जानकारी दिए।




