पथरी, साउन १८ । मोरङ क्षेत्र नं. ३ को पथरीमा आयोजना गरिएको ‘सांसदसँग तरुण’ कार्यक्रममा कांग्रेस निकट तरुण युवाहरूले पार्टी नेतृत्वप्रति कडा असन्तुष्टि जनाएका छन्।
प्रतिनिधिसभा सांसद डा. शुनिल कुमार शर्मा, प्रदेशसभा सदस्य मान बहादुर लिम्बु र कांग्रेस नेता बसन्त भट्टराईलाई व्यासमा राखेर युवाहरूले आफ्ना गुनासा सार्वजनिक रूपमा राखेका हुन् ।
कार्यक्रममा सहभागी युवाहरूले पार्टीले आफूहरूलाई निर्वाचनमा मात्र प्रयोग गर्ने, तर निर्णय प्रक्रियामा बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गरे ।
तरुण नेता जितेन राईले भने, “हामीलाई झण्डा बोकेर जुलुसमा पठाउने काम मात्र गरिएको छ, तर विचार, नीति निर्माणमा हाम्रो सहभागिता गराइदैन, तरुणलाई पार्टीको मेरुदण्ड भनिन्छ तर तरुणलाई शुस्तबनाएर तरुणकै ढाड भाच्ने काम भएको छ ।”
त्यस्तै, तरुण युवा विराज कार्कीले पार्टीमा दीर्घकालीन सोच, नीति र संगठन सुदृढीकरणप्रति बेवास्ता हुँदै आएको गुनासो पोख्दै उनले भने– “समयमै महाधिवेशन नगरी तरुण जस्तो सक्षम संगठनलाई निष्क्रिय बनाइएको छ ।”
क्षेत्र–३ का चारवटा पालिकाबाट आएका सयभन्दा बढी युवाहरू सहभागी कार्यक्रममा अधिकांशले कांग्रेसका भातृ संगठनहरू समेत शिथिल अवस्थामा रहेको धारणा राखे। युवाहरूले समावेशी दृष्टिकोणको अभाव, चेतनामूलक कार्यक्रमको कमी र प्रभावकारी नेतृत्व नहुँदा आम चुनावमा कांग्रेस अमिल्दो साठगाँठ गर्न बाध्य भएको आरोप पनि लगाए ।
युवाहरूको तीव्र गुनासोबीच सांसद डा. शुनिल कुमार शर्माले पार्टीले अबको तरुणलाई नयाँ ढंगले बुझ्नुपर्ने बताए । “अबको तरुण योद्धा मात्र होइन, प्रविधिमा दक्ष, आइटी जान्ने, एआई बुझ्ने, सीपयुक्त र प्रतिस्पर्धी हुनुपर्छ, र त्यसो भए अवको १० वर्षमा फेरी पनि हाम्रो कांग्रेस विपीले देख्नुभएको जस्तै कांग्रेस बन्ने छ ।”
साथै उहाले कांग्रेस नेतृत्वलाई युवामैत्री कार्यक्रम ल्याउन दबाब दिने प्रतिबद्धता पनि जनाउनु भयो ।
कार्यक्रमले कांग्रेसभित्र बढ्दो असन्तोषको संकेत गर्दै संगठनभित्र यथाशीघ्र सुधार र उत्तरदायी युवा नीतिको माग सतहमा ल्याएको स्पष्ट देखिएको छ । कार्यक्रम तरुण दल मोरङ–३ का क्षेत्रिय सभापति छत्र लिम्बुको सभापतित्वमा सम्पनन् भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय