
मोरङको बुढिगंगा गाउपालिका वडा नम्बर ४ स्थित मनमोहन प्राविधिक विश्वविद्यालयको आयोजनामा उर्लाबारीमा संचालित योग प्रशिक्षक तालिम सम्पन्न भएको छ।
गत जेठ १ गतेदेखि ३१ गतेसम्म संचालित सो तालिम ३ क्रेडिट आवरको ( १सय ५ घण्टा अवधिको ) थियो।




आईतबार विहान विश्वविद्यालयका उपकुलपति डा. शुभाष श्री पोख्रेलको सभाध्यक्षतामा सम्पन्न सो तालिमको संयोजन उर्लाबारी नगरपालिका वडा नम्बर ५ स्थित ब्रह्मकुमारी राजयोग सेवा केन्द्रको रहेको थियो
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले योग गर्न उमेरले नरोक्ने बताउदै योग सबैले गर्न सक्ने अभ्यास भएको बताए। उनले उर्लाबारी नगरका ९ वटै वडामा हरेक दिन विहान योगमा स्थानीयको सहभागिता बढिरहेको भन्दै नियमित योग अभ्यासले स्वस्थ जीवनयापनमा सहयोग पुर्याउने बताए।
सो अवसरमा बोल्दै उपकुलपति डा. पोख्रेलले विश्वविद्यालयद्वारा उर्लाबारीमा पहिलो पटक योग प्रशिक्षक तालिम संचालन गरिएको बताए । विश्वविद्यालयले प्लम्बिङ, सिँकाईकटाईलगायतका आधारभूत तालिम १४ जिल्लामा सञ्चालन गरिएको उनले जानकारी दिए।
यस्तै उनले डिप्लोमा तहमा सिभिल, ओभरसियरलगायतका कार्यक्रम, स्नातक तहमा सिभिल, बीबीए, एलएलबी तथा स्नातकोत्तर तहमा हस्पिटल म्यानेजमेन्टसमेत सञ्चालन भइरहेको बताए।
त्यस्तैगरी, विश्वविद्यालयले वि.सं. २०६८ सालमा स्थापना गरेको रोजगार विभाग इकाईले हालसम्म १ हजार ६ सय ३ जनालाई रोजगार दिलाएको बताए ।
स्वस्थ शरीर र स्वस्थ मस्तिष्कका लागि योग आवश्यक रहेको बताउँदै डा. पोख्रेलले एडभान्स योग करिकुलम समेटिएको सो कोर्ष समाजको मागअनुसार थपिँदै जाने बताए।
सो कार्यक्रममा उपकुलपति डा. पोख्रेलसहित प्रमुख अतिथी नगर प्रमुख खरेल ,विशिष्ट अतिथि उर्लाबारी नगर उपप्रमुख मिना खतिवडा पौडेल र दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाईलगायतले तालिम पूरा गरेका ४८ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरेका थिए।
उक्त तालिममा सहभागी हुन नेपाली नागरिकता र कम्तीमा एसएलसी पास हुनुपर्ने प्रावधान छ । तालिम लिएका प्रशिक्षार्थीहरुको एक महिनाभित्र सिकाइ मुल्याङ्कन गरि विश्वविद्यालयमा परीक्षा लिइनेछ र उत्तीर्ण हुनेहरुलाई विश्वविद्यालयको ग्रेडिङ प्रणालीअनुसार प्रमाणपत्र प्रदान गरिनेछ।
सो अवसरमा प्रशिक्षार्थीहरुले योगका विभिन्न आसनहरु प्रस्तुत गरेका थिए ।