पथरी, २० कार्तिक । मोरङको पथरी शनिश्चरेमा जारी दोस्रो ईन्ट्रा अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप आज निर्णायक चरणमा प्रवेश गर्दैछ । फाइनलको टिकटका लागि आज राजधानीको दिग्गज क्लब NRT काठमाडौँ र आयोजक पथरी–११ फुटबल क्लबबीच रोमाञ्चक भिडन्त हुँदैछ।
पथरीशनिश्चरे नगरपालिका–१, जातेमोडस्थित खेलमैदानमा आज हुने सेमिफाइनल खेलले प्रतियोगिताको दोस्रो फाइनलिस्ट टुंगो लगाउनेछ। हिजो सम्पन्न पहिलो सेमिफाइनलमा सहलेश युवा क्लब सिराहले पाँचथर फुटबल क्लबलाई ४–१ को फराकिलो गोलअन्तरले हराउँदै फाइनलको यात्रा तय गरिसकेको छ।




अब बाँकी रहेको अन्तिम सेमिफाइनलमा आयोजक पथरी–११ आफ्नो घरेलु मैदानको समर्थनमा उत्साहका साथ उत्रँदैछ भने, अर्को तर्फ अनुभव र प्रतिष्ठाका साथ राजधानीको प्रतिष्ठित क्लब NRT काठमाडौँ फाइनलको दाबेदारका रूपमा मैदानमा उत्रनेछ।
दुवै टोलीको भिडन्तले रोमाञ्चक नतिजा निकाल्ने अपेक्षा गरिएको छ। हिजोको खेलमा स्थानीय दर्शकहरूको उत्साह चरममा पुगेको थियो भने आज झनै ठूलो दर्शक उपस्थितिको अनुमान गरिएको आयोजकले जनाएको छ।
आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार, प्रतियोगिताका विजेताले नगद रु. ५ लाख र उपविजेताले रु. २ लाख ५० हजार प्राप्त गर्नेछन्।
आजको खेलले पथरीमा फाइनलको चित्र स्पष्ट पार्नेछ। स्थानीय समर्थकहरू आफ्ना खेलाडीलाई उत्साह र जयघोषका साथ समर्थन गर्न आतुर छन्। आज हेर्न बाँकी छ घरेलु मैदानको जोश बलियो ठहरिन्छ कि राजधानीको अनुभव भारी पर्छ यो प्रतिक्षा को घडि दिउसो २:३० बजेबाट सुरुहुने छ ।




