पथरी, २१ कार्तिक । मोरङको पथरीमा जारी दोस्रो ईन्ट्रा अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा उपाधिका लागि आयोजक पथरी–११ र सहलेस युवा क्लब सिराहा आमनेसामने हुने भएका छन् ।
सेमिफाइनलमा आयोजकको शानदार जित:




होमग्राउण्डमा स्थानिय दर्शकको उत्साहजनक साथमा मैदान ओर्लिएको आयोजक पथरी–११ ले बिहीबार भएको अन्तिम सेमिफाइनलमा राजधानीको पाहुना टोली NRT काठमाडौंलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा सुनिश्चित गरेको हो ।
खेलको २६औं मिनेटमा पथरी–११ का सौर्य राउतले सहलेसका गोलकिपरबाट रिबाउन्ड भएर आएको गोललाई कन्ट्रोल गर्दै डिबक्स बाहिरबाट गरेको शक्तिशाली सुट गोलमा परिणत भएपछि आयोजकले अग्रता कायम गरेको थियो ।
त्यसपछि खेलभरि दुवै टिमले आक्रमण र बचाउको उत्कृष्ट प्रदर्शन गरे पनि थप गोल गर्न सकेनन् ।
सहलेसको जोरदार प्रदर्शन:
फाइनलमा पथरी–११ को सामना गर्न लागेको सहलेस युवा क्लब सिराहाले भने सेमिफाइनलमा फिदिमको पाँचथर फुटबल क्लबलाई ४–१ गोल अन्तरले हराउँदै उत्कृष्ट प्रदर्शनका साथ फाइनलमा स्थान बनाएको हो ।
हालका मोफसल प्रतियोगितामा निरन्तर उत्कृष्ट फर्ममा रहेको सहलेस टोली यस पटक पनि उपाधि कब्जाको योजनाका साथ मैदानमा उत्रिने तयारीमा छ ।
टिमको डिफेन्स लाइन बलियो छ भने सट, पास र ट्याकलमा दक्ष खेलाडीले भरिएको टोली उपाधी दाबेदार रहेको फुटबलका जानकार हरुको बुझाई छ ।

फाइनलमा रोमाञ्चक भिडन्तको अपेक्षा:
होमग्राउण्ड र स्थानीय दर्शकको उत्साहले उत्साहित पथरी–११ को टिम पनि मजबुत रहेको छ ।
फुटबल विज्ञहरू का अनुसार, डिफेन्स लाइन मजबुत र मिडफिल्ड सन्तुलित रहेको आयोजक पथरी–११ को डिफेन्स लाईन छिचोल्नु सहलेसका लागि “आइरन गेट” सरह रहेको र चुनौतीपूर्ण हुने अनुमान उनिहरुले गरेका छन ।
फुटबल विश्लेषकहरूका दृष्टिमा दुवै टिमको खेलशैली, ट्याक्टिक्स र फर्मका कारण शनिबारको फाइनल रोमाञ्चक हुने पक्का छ ।
विजेतालाई पाँच लाखको पुरस्कार:

प्रतियोगिताका विजेता टिमले रु. ५ लाख र उपविजेताले रु. २ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।
फाइनल खेल शनिबार दिउँसो ३ बजे पथरीशनिश्चरे–१, जातेमोडस्थित प्रस्तावित रंगशालामा हुनेछ । आयोजक पथरी–११ फुटबल क्लबका अध्यक्ष सुमन विकका अनुसार खेल भव्य र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न तयारी पूरा गरिएको छ ।
सचिव केसर राईका अनुसार स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति र भीडका कारण मैदानमा फाइनलको माहोल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।




