पथरी, २३ कार्तिक ।
मोरङको पथरीमा सम्पन्न दोस्रो इन्ट्रा अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्डकप २०८२ को उपाधि सहलेस युवा क्लब सिराहाले जितेको छ ।
शनिबार भएको फाइनल भिडन्तमा सहलेसले आयोजक पथरी–११लाई १–२ गोलको अन्तरले पराजित गर्दै उपाधि आफ्नो पोल्टामा पार्यो ।




खेलको सुरुवाती अग्रता भने आयोजक पथरी–११ले लिएको थियो । खेलको १९औँ मिनेटमा पथरीका धिरेन क्षेत्रीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई १–० को अग्रता दिलाएका थिए ।
सहलेसका विदेशी खेलाडी करिम ओमोलोजाले पथरीका निरज परियारमाथि डि–बक्स भित्र फल गरेपछि प्राप्त पेनाल्टी अवसरलाई धिरेनले सदुपयोग गरेका थिए ।

तर, दोस्रो हाफमा सहलेसले उत्कृष्ट कमब्याक गर्दै खेलको समीकरण उल्ट्यायो । खेलको ५८औँ मिनेटमा सहलेसका जय गुरुङले बराबरी गोल गर्दै खेललाई १–१ मा ल्याए । त्यसपछि आत्मविश्वासका साथ खेल्दै सहलेसले ६९औँ मिनेटमा समिर तामाङको गोलमार्फत अग्रता लियो र अन्ततः २–१ को जितसँगै उपाधि हात पार्यो ।
फाइनलको म्यान अफ दि म्याच सहलेसका जय गुरुङ घोषित भए र उनले नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
आयोजक पथरी–११ का युकेस तामाङ प्रतियोगिताका सर्वोकृष्ट खेलाडी (Best Player) घोषित हुँदै नगद २५ हजार रुपैयाँ प्राप्त गरे । अन्य विधागततर्फ उत्कृष्ट गोलरक्षक सहलेसका रेवट चौधरी
सर्वाधिक सहलेसका गोलकर्ता रिजड वईसन, उत्कृष्ट प्रशिक्षक राजिव यादव घोसित भए उनिहरु सबैलाई नगद १०/१० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो ।

त्यस्तै आयोजक पथरी–११ का गोलरक्षक समिर क्षेत्री उदयमान खेलाडी, सन्जय लिम्बु उत्कृष्ट मिडफिल्डर र धिरेन क्षेत्री उत्कृष्ट डिफेन्स घोषित हुँदै जनही १०/१० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताको विजेता सहलेस युवा क्लब सिराहाले नगद ५ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता पथरी–११ले नगद २ लाख ५० हजार रुपैयाँमा सन्तोष मान्यो ।
विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई पथरी शनिश्चरे नगरपालिका प्रमुख मोहन तुम्वापो, एन्फा केन्द्रीय सदस्य दिपेन्द्र धिमाल, र मोरङ जिल्ला फुटबल संघका अध्यक्ष सन्जिव बुढाथोकीले पुरस्कार वितरण गरेका थिए ।




