कानेपोखरी, २८ मंसिर । मोरङको कानेपोखरी गाउँपालिका–५ मा सञ्चालित अक्पाल प्लान्टबाट फैलिएको प्रदूषणका कारण गाउँबस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले प्लान्ट तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।
सचेत नागरिक समूहको अगुवाइमा स्थानीयवासीले वातावरणीय न्यायको माग गर्दै उक्त प्लान्टले मानव स्वास्थ्य, पशुपन्छी तथा पर्यावरणमा गम्भीर असर पुर्याइरहेको बताएका छन् । प्लान्टबाट निस्कने धुवाँ, धुलो र अन्य प्रदूषक तत्वका कारण श्वासप्रश्वास सम्बन्धी समस्या बढ्दै गएको र पशुपन्छीसमेत प्रभावित भइरहेको स्थानीयको भनाइ छ ।
सचेत नागरिक समूहका अगुवा आनन्द राईका अनुसार वि. एण्ड. वि कन्स्ट्रक्सनले २०७८ सालमा उक्त क्षेत्रमा अक्पाल प्लान्ट स्थापना गरेको हो । बस्तीबाट करिब ५० मिटरको दूरीमा रहेको यस प्लान्टले निरन्तर प्रदूषण फैलाउँदै आएको भन्दै बस्ती, मानव स्वास्थ्य, पशुपन्छी र वातावरण संरक्षणका लागि प्लान्ट हटाउनुपर्ने माग गरिएको छ ।
स्थानीयवासीले वायुप्रदूषण फैलाउने उद्योग बस्ती आसपास सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि प्लान्ट स्थापना गरिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् । कानुन मिचेर प्लान्ट सञ्चालन गरिएको हो कि ? स्थानीय सरकारले नै अनुमति दिएको हो ? भन्ने विषयमा स्पष्ट जवाफ माग्दै सचेत नागरिक समूहले गाउँपालिकालाई ज्ञापनपत्र बुझाउन गएको जनाएको छ ।
तर, ज्ञापनपत्र बुझाउन गाउँपालिका कार्यालय पुगेका बेला अध्यक्ष र उपाध्यक्ष दुवै उपस्थित नभएपछि ज्ञापनपत्र नबुझाई फर्किनु परेको समूहले जनाएको छ । स्थानीयवासीले सम्बन्धित निकायले समस्या गम्भीरतापूर्वक नलिएको खण्डमा चरणबद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।








