उर्लाबारी, १२ पुस । जाडोयाम सुरु भएसँगै बिहानको कठ्याङ्ग्रिने चिसोले ग्रामिण भेगका बालबालिकाको दैनिकी थप चुनौतीपूर्ण बन्ने गरेको छ ।
न्यानो कपडाको अभावकै कारण ग्रामिण भेगमा बसोबास गर्ने सरकारी विद्यालयमा अध्ययन गर्ने बालबालिका विद्यालय जान नसक्ने, घरमै बस्न बाध्य हुने र शिक्षाको उज्यालो घामबाट वञ्चित हुने बालबालिकाको संख्या आज पनि कम छैन ।
ग्रामिण भेगमा बसोबास गर्ने अभिभावक मध्ये धेरै जसो सरकारी विद्यालयमा छोराछोरी पढाउने अभिभावकको गुजारा खेतिबारी, मेलापात र मजदुरी गरेर नै वित्ने गर्दछ ।
जसबाट प्राप्त आम्दानीले उनिहरुले तिनै छोराछोरी विरामी पर्दा औषधी उपचार गर्न र घरका अन्य आवश्यता पुरा गर्दागर्दै उनिहरुले छोराछोरीको आङमा विद्यालयको छुट्टै पोषाक र अन्य बेलाको छुट्टै लत्ताकपडा पुर्‍याउन धौ–धौ पर्ने गर्दछ । जसका कारण विद्यालय जाने उमेरका बालबालिकाहरु जाडोयाम सुरु भएसगै विद्यालय जानबाट बञ्चित हुने गरेका छन् ।
अभिभावकको यही यथार्थलाई मध्यनजर गर्दै मोरङको मिक्लाजुङ गाउँपालिका–४, छत्रपुरस्थित सृजना आधारभूत विद्यालयमा अध्ययनरत ३० जना आर्थिक रूपमा कमजोर विद्यार्थीलाई न्यानो टोपी र स्विटर वितरण गरिएको हो ।
जाडोयाममा न्यानो कपडाकै कारण बालबालिकाको नियमित विद्यालय उपस्थिति प्रभावित नहोस् भन्ने उद्देश्यका साथ उर्लाबारीलाई कार्यक्षेत्र बनाएर सञ्चारकर्म गर्दै आएकी सम्झना राईले आफ्नै व्यक्तिगत लगानीमा न्यानो कपडा वितरण गर्नुभएको हो ।
राईले भन्नुभयो–ग्रामिण भेगका विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई नियमित विद्यालय जाने वातावरण सिर्जना गर्नु नै यस सहयोगको मुख्य लक्ष्य हो ।
विद्यालय प्रशासनका अनुसार न्यानो कपडा प्राप्त गर्ने विद्यार्थीहरूमा ईसीडी कक्षाका ४ जना, एलकेजीका ३ जना, कक्षा–१ का ९ जना, कक्षा–३ का ३ जना, कक्षा–४ का ६ जना र कक्षा–५ का ५ जना गरी जम्मा ३० जना विद्यार्थीलाई १५ हजार मुल्य बराबरको न्यानो कपडा प्राप्त भएको जनाएको छ ।
कपडा प्राप्त गर्ने सबै विद्यार्थी आर्थिक रूपमा कमजोर परिवारबाट आएका र चिसो मौसममा न्यानो कपडाको अभाव झेल्दै आएका विद्यार्थीहरु रहेको प्रशासनले जनाएको छ ।
शुक्रबार आयोजित न्यानो कपडा वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राई, अभिभावकहरू तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा न्यानो कपडा पाएका विद्यार्थीहरू खुसीले झल्किएका देखिन्थे । अभिभावकहरूले सहयोगले बालबालिकाको स्वास्थ्य जोगिनुका साथै विद्यालयप्रतिको आकर्षण र पढाइमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।
कपडा वितरणपछि सम्झना राईले सञ्चारकर्मसँगै ग्रामिण भेग र आर्थिक रूपमा कमजोर विद्यालयमा अध्ययन गर्ने बालबालिकाका लागि आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
साथै उहाँले सानो प्रयासले पनि बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सकिने बताउँदै समाजका सबै वर्गले शिक्षा क्षेत्रमा योगदान दिनुपर्ने धारणा राख्नुभयो।
यस्तै विद्यालयका प्रधानाध्यापक मनिन्द्र राईले चिसो मौसममा न्यानो कपडाको अभावमा कठिनाइ भोगिरहेका विद्यार्थीहरूले यस्तो सहयोग पाएपछि विद्यालय आउने उत्साह थपिएको बताउनुभयो ।
विद्यालय प्रशासन तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल राईले मानवीय भावना र सामाजिक उत्तरदायित्वसहित गरिएको यस कार्यका लागि सम्झना राईप्रति धन्यवाद व्यक्त गर्नुभयो ।
वास्तवमै झट्ट हेर्दा सामान्य देखिने सानो तर महत्वपूर्ण सहयोगले न्यानोपनसँगै शिक्षाप्रतिको आशा र विश्वास जगाएको छ ।
आर्थिक अभावकै कारण न्यानो कपडाबाट वञ्चित भई विद्यालय जान कठिनाइ झेलिरहेका बालबालिकाका लागि राईले गरेको यो उदाहरणीय पहलले नयाँ ऊर्जा र सकारात्मक सन्देश फैलाएको देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय