उर्लाबारी, १३ पुष । बसन्त पञ्चमी अर्थात् सरस्वती पूजा नजिकिँदै जाँदा कोशी प्रदेशका तराई क्षेत्र, विशेषगरी झापा र मोरङका गाउँबस्तीहरूमा माटो, पराल र बाँसले बनेका सरस्वती माताका मूर्तिहरूले भरिन थाल्छन् ।
विद्यालय, टोल र घरघरमा पूजा तयारी भइरहँदा मूर्तिबाट आर्जित लाखौँ रुपैयाँ हरेक वर्ष नेपालबाट भारततर्फ बाहिरिने गरेको तथ्य भने प्रायः ओझेलमा पर्ने गरेको छ ।
झापा र मोरङका सिमावर्ती क्षेत्रहरूमा सरस्वती पूजा लक्षित गरेर भारतीय मूलका कालिगढहरू मंसिर महिनाको सुरुवातसँगै नेपाल प्रवेश गर्ने गर्छन् । उनीहरू नेपाली नागरिकका घर, गोठ वा खाली जग्गा भाडामा लिएर करिब तीन महिनासम्म मूर्ति निर्माणमा व्यस्त रहन्छन् ।
पराल, बाँस र माटो प्रयोग गरी परम्परागत कलात्मक शैलीमा बनाइने यी मूर्तिहरू अन्ततः नेपाली बजारमै बिक्री हुन्छन्, तर त्यसबाट प्राप्त आम्दानीको कर भने नेपाल सरकारका कुनै पनि निकायलाई बुझाउनु पर्दैन र सो रकम सोझै भारत लगिन्छ ।


तीन महिनाको अवधिमा एक जना कालिगढले औसत ८० हजारदेखि १ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन्छ । साना–ठूला मूर्तिको मूल्य प्रतिगोटा ७ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्छ । विद्यालय, निजी तथा सरकारी शिक्षण संस्थान, टोल विकास संस्था र अभिभावकहरू सरस्वती पूजाका लागि अनिवार्यझैँ मूर्ति खरिद गर्ने भएकाले बजार सुनिश्चित रहेको भारतीय कालिगढहरूको भनाइ छ ।
तर यही सहजता र नेपाली बजारको निर्भरता नै अर्को पाटोबाट गम्भीर प्रश्नको विषय पनि बनेको छ । सरस्वती पूजा नेपाली संस्कार, संस्कृति र शिक्षासँग जोडिएको पर्व भए पनि त्यसको आर्थिक लाभ भने ठूलो मात्रामा बाहिरिएको छ ।
स्थानीय स्तरमा मूर्ति निर्माण गर्ने सीप, तालिम र उद्यमको विकास हुन नसक्दा नेपाली युवाहरू यस अवसरबाट वञ्चित भइरहेको यो एउटा उदाहरण पनि हो ।
स्थानीय जानकारहरूका अनुसार यदि यही काम नेपाली युवाले सीपमूलक तालिममार्फत् सुरु गर्न सके, वार्षिक लाखौँ रुपैयाँ गाउँमै घुम्न सक्थ्यो । तर न त सरकारी निकायको ध्यान पुगेको छ, न त निजी क्षेत्रको । न त विद्यालय र समुदायले स्वदेशी उत्पादन प्रयोग गर्ने सोच बनाएका छन, जसका कारण हरेक वर्ष विना सर्त लाखौ रुपैया भारत पलायन हुने गरेको छ ।


यस वर्ष सरस्वती पूजा माघ ९ गते परेको छ । पूजा नजिकिँदै जाँदा भारतीय कालिगढहरूको चहलपहल झन् बढ्दै गएको छ । सरस्वती माताको मूर्तिसँगै नेपाली पैसा अपत्यारिलो तवरले सीमापारि बगिरहँदा, “हामी किन आफैँले बनाउँदैनौँ?” भन्ने प्रश्न भने अझै अनुत्तरित छ ।
झट्ट हेर्दा र पढ्दा सामान्य लाग्ने यो विषयको आर्थिक बहिर्गमनप्रति नीति निर्माताहरु, स्थानीय सरकार र समुदायले गम्भीर सोच बनाउने बेला आएको छ । सरस्वतीको पूजा मात्र होइन, त्यससँग जोडिएको सीप, श्रम र आम्दानी पनि स्वदेशमै सुरक्षित गर्न सकियो भने मात्र यसको पूर्ण अर्थ रहने देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय