उर्लाबारी, २० पुष । भक्तजनको आस्था, विश्वास र श्रद्धासँग जोडिएका मोरङका धार्मिक स्थलहरू पछिल्लो समय अपराधीहरूको सजिलो निशाना बन्दै गएका छन् । मोरङको रंगेली, उर्लाबारी र रतुवामाई नगरपालिकाका विभिन्न स्थानमा पुष १० गते देखी यता पुष २० गते १० दिनको अन्तरालमा ३ वटा मन्दिर चोरीका घटनाले मन्दिरहरूलाई लक्षित गरी संगठित चोरी गर्ने गिरोह सक्रिय भएको आशंका थप बलियो बनाएको छ ।
पुष १० गते राति उर्लाबारी नगरपालिका–९ स्थित श्री सिंहकाली देवी मन्दिरमा चोरी भएको थियो । अज्ञात समूहले मन्दिरमा रहेका ६ थान घण्टी, कलश, लोटा तथा विभिन्न पूजाका सामग्री चोरी गरेर लगेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालका अनुसार चोरीमा संलग्न समूहको खोजी कार्य भइरहेको जनाइएको छ ।
यसैबीच, पुष ११ गते राति मोरङको रतुवामाई नगरपालिका वडा–९ स्थित सर्वेश्वर शिलालय मन्दिरमा पनि चोरी भएको थियो । इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक कैलाश राईका अनुसार मन्दिरको ताला फोडेर चोरले दुई वटा शिवको मूर्ति, करिब २० तोला चाँदी, ४० वटा पित्तलका दियो, पाँच किलो तौलको एक थान जलधार तथा दुई थान घण्टी चोरी गरेका छन् ।
प्रहरीका अनुसार उक्त मन्दिर परिसरमा सिसिटिभी क्यामेरा जडान नभएकाले चोरको सुराक पत्ता लगाउन कठिनाइ भएको जनाइएको छ । घटनापछि प्रहरीले सादा पोशाक र बर्दीधारी प्रहरी परिचालन गरी रात्रिकालीन गस्ती बढाएको जनाएको छ । घटनाको प्रकृति हेर्दा यहाँ पनि चोरी समूह बनाएर गरिएको हुन सक्ने प्रहरीको अनुमान छ ।
यसै गरी पुष २० गते मोरङकै रंगेली नगरपालिका–७ स्थित श्री संसारीमाई मन्दिरमा पनि चोरी भएको छ ।
शनिबार रातिको समयमा मन्दिरको च्यानल गेटमा लगाइएको ताल्चा फोडेर भित्र प्रवेश गरी चोरी गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटीको नेतृत्वमा अनुसन्धान टोली परिचालित छ ।
प्रहरीका अनुसार संसारीमाई मन्दिरबाट माताका दुई थान साना मूर्ति, ठूलो मूर्तिमा चढाइएका चाँदीका गरगहना तथा दानपेटिकाको सिसा फोडेर त्यसभित्र रहेको नगद रकम चोरी भएको हो ।
चोरीमा संलग्नको पहिचान हुन नसके पनि प्रहरी स्रोतका अनुसार घटना योजनाबद्ध देखिएकाले एक्लो व्यक्ति नभई समूहकै संलग्नता हुन सक्ने सम्भावना देखिएको छ । सिसिटिभी फुटेजको आधारमा पहिचान गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
संयोग कि योजनाबद्ध श्रृंखला ?
केही दिनको अन्तरालमै उर्लाबारी, रंगेली र रतुवामाईका मन्दिरहरूमा भएका चोरीका घटनाले यो केवल संयोग मात्र हो कि धार्मिक स्थललाई लक्षित गर्दै योजनाबद्ध रूपमा सक्रिय गिरोहको श्रृंखला हो भन्ने प्रश्न उठाएको छ ।
चोरी गरिएका सामग्रीहरूको प्रकृति हेर्दा—घण्टी, मूर्ति, चाँदीका गरगहना, दियो र दानपेटिकाको नगद—यी सबै सजिलै बिक्री वा पगालेर लुकाउन सकिने वस्तुहरू भएकाले अपराधीको उद्देश्य स्पष्ट देखिने स्थानीयको भनाइ छ ।
स्थानीयवासीहरूका अनुसार धेरैजसो मन्दिरमा पर्याप्त सुरक्षा व्यवस्था नहुनु, सिसिटिभी क्यामेरा, रात्रीकालीन सुरक्षा र नियमित निगरानीको अभावले मन्दिरहरू असुरक्षित बन्दै गएको उनिहरुको बुझाई छ ।
धार्मिक स्थलको सुरक्षा जिम्मा कस्को ?
लगातार भइरहेका चोरीका घटनाले धार्मिक स्थलको सुरक्षा मन्दिर व्यवस्थापन समितिको मात्र दायित्व हो कि राज्य र समाजको साझा जिम्मेवारी भन्ने बहसलाई झकझक्याएको छ ।
श्रद्धा र आस्थाको केन्द्र मानिने मन्दिरहरू असुरक्षित बन्दै जानु केवल चोरीको विषय मात्र नभएर, सामाजिक विश्वासमाथिको चोट भएको भन्दै स्थानियहरुले स्थानीयहरूले दोषीलाई छिटोभन्दा छिटो पक्राउ गरी सार्वजनिक गर्न र कडा कारबाही गर्न माग गरेका छन् ।
साथै, उनिहरुले धार्मिक स्थलहरूमा सुरक्षा प्रविधि विस्तार, सिसिटिभी जडान, नियमित प्रहरी गस्ती र समुदाय–प्रहरी सहकार्य आवश्यक भएको बताएका छन् ।








