उर्लाबारी, २ माघ । मोरङको उर्लाबारी–३ मगलबारेमा जारी कोशी प्रदेश–पालिका स्तरीय प्रथम कक्फेवा कप भलिबल प्रतियोगिताको उपाधि झापाको भद्रपुर नगरपालिकाले हात पारेको छ ।
बिहीबार उर्लाबारी–३ मंगलबारेस्थित सालबारी सामुदायिक वन क्षेत्रको तेनेबा माङथानमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा भद्रपुरले झापा गाउँपालिकाको टिमलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो।
उपाधिसँगै भद्रपुरले ७० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। फाइनल खेलको ‘म्यान अफ दि म्याच’ भद्रपुरका सन्देश आचार्य घोषित भए । उनले १ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरे। यस्तै, भद्रपुरकै भरत यादव ‘म्यान अफ दि सिरिज’ घोषित हुँदै ५ हजार रुपैयाँ नगदसहित ट्रफीद्वारा सम्मानित भए ।
त्यसैगरी उपविजेता बनेको झापा गाउँपालिकाको टिमले ४० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगिताका विभिन्न विधातर्फ भद्रपुरका अविषेक कामती (बेष्ट मिडिल ब्लकर), आयुस निरौला (बेष्ट लिब्रो), आकाश ठटाल (बेष्ट सेटर) र निशान काफ्ले (बेष्ट कोच) घोषित भए ।
झापाका रोशन सिवाकोटी र रमित मल्ल ठकुरी क्रमशः बेष्ट सर्भर र बेष्ट स्पाइकर बने। उनीहरूलाई जनही १ हजार ५ सय रुपैयाँ नगदसहित ट्रफी प्रदान गरिएको थियो ।
प्रतियोगिता लिम्बू समुदायले मनाउने कक्फेवा तङ्नाम तथा येले तङ्बे ५०८६ को अवसरमा आयोजना गरिएको हो । सो अवसरमा लिम्बू समुदायको मौलिक बाजा, च्याब्रुङ नाच, सांस्कृतिक झाँकी तथा परम्परागत परिकारले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मिना देवी खतिवडा पौडेल, किरात यक्थुम चुम्लुङ उर्लाबारीकी अध्यक्ष बानु सुब्बा, माङथानका संरक्षक तथा समाजसेवी अर्जुन तुम्रोक लगायतले शुभकामना व्यक्त गरेका थिए ।
यसैबीच प्रतियोगिता सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थालाई आयोजकले सम्मानपत्रद्वारा सम्मान गरेको छ ।








