उर्लाबारी, माघ २ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर–१ को निर्वाचन अधिकृतको कार्यालय शुक्रवार देखि उर्लाबारी नगरपालिकाको कार्यालय परिसरमा स्थापना गरिएको छ ।
निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ निर्वाचन कार्यालय स्थापना गरिएको हो । मोरङ–१ का लागि निर्वाचन अधिकृत प्रकाश घिमिरे तोकिनु भएको छ ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उप–प्रमुख मिना देवी खतिवडा, प्रमुख प्रशासकीय अधिकृत अभय कुमार गुप्तालगायत नगरपालिकाका कर्मचारी, ईलाका प्रहरी कार्यालय उर्लाबारी र शास्त्र प्रहरी वेस क्याम्प उर्लाबारी लगाएतका सुरक्षा निकायका प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै उप–प्रमुख खतिवडाले लोकतन्त्रको सुदृढीकरणका लागि निर्वाचन महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै सबै पक्षको सहयोग र समन्वय आवश्यक बताउनु भयो ।
निर्वाचन अधिकृतको कार्यालयबाट मतदाता नामावलीसम्बन्धी कार्य, उम्मेदवार मनोनयन, निर्वाचन आचारसंहिता कार्यान्वयन, उजुरी व्यवस्थापनलगायतका सम्पूर्ण निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गरिने जनाइएको छ ।
निर्वाचन नजिकिँदै जाँदा कार्यालय सञ्चालनमा आएसँगै मोरङ क्षेत्र नं.–१ मा निर्वाचन गतिविधि थप तीव्र हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय