दिलीप पोखरेल/उर्लाबारी

तिहार अघिसम्म उर्लाबारी-७ स्थित चिउरा मिल चोकमा राति अबेरसम्म बस्ने कमै हुन्थे । चोकमा रहेको वरको चौतारो गफिने स्थलबाहेक केही थिएन । स्थानीय भेला हुने चिया गफ गर्दै बस्ने चौतारो गत मंगलबारदेखि भने फोटो खिच्‍ने स्थल बन्दै गएको छ ।

चौतारमा रहेको बरको रुखमुनी फोटो खिच्‍नका लागि भनेर विभिन्न ठाउँबाट मानिसहरु आउन थालेका छन् । फोटो खिच्ने,टिकटक बनाउने भिडियो बनाउनैका लागि साँझदेखि भिड हुन थालेको छ ।

स्थानीयले यो बरको रुखमा सजाएर राखेको झिलिमिली बत्ती रातको समयमा निकै नै आकर्षक देखिएपछि फोटो खिच्‍नेहरू झुम्मिएका हुन् ।

चिउरा मिलका स्थानीय युवा नितम चौहानको पहलमा चिउरामिल युवा क्लवका युवाहरूले बरको रुखमा करिव ४८ हजार रुपैयाँ खर्च गरेर तिहार लक्षित गरेर झिलिमिली बत्ती र ध्वजा जडान गरिएको थियो ।

चिउरामिल युथ क्लवका अध्यक्ष रोशन गुरागाँईसहित स्थानिय युवाहरु पात्र धिमाल, अनिश धिमाल, निशान धिमाल, कुन्दन मण्डल,दिवस राई, भविन भुजेललगायतको श्रमदानमा उक्त बत्ती जडान गरिएको चौहानले बताए । उनले भने,’तिहारको बेला चोकमा झिलिमिली होस् भनेर बरमा राखेका थियौं । तर फोटो खिच्नका लागि भनेर मानिसहरु टाढाबाट आउने क्रम बढेको देख्‍दा मलाई नै उत्साह थपियो । ‘

चिउरा मिलको बरमा राखिएक झिलिमिलि बत्ती आकर्षक देखिएपछि अहिले रातको समयमा त्यहाँ फुटफाथ व्यवसाय समेत लाग्न थालेको छ ।

बरको रुख भाइरल भइरहँदा राति ११ बजेसम्म त्यहाँ तस्बिर,फोटो खिच्‍नका लागि मानिसहरू आउने गरेका छन्।

यस्तै, उर्लावारीको मुख्य चोकमा पनि युवाहरूको पहलमा झिलिमिली राखिएको छ । यसका लागि नगरपालिकाले नियमित विद्युतिय आपूर्तिको व्यवस्थापन गरिदिएको छ ।

यस्तै चोकमा सजिएको झिलिमिल बत्ती नगरपालिकाले उपलब्ध गराएको चौहानले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय