दिलीप पोखरेल / उर्लाबारी
उर्लाबारीको सोल्टि खोलामा अवैध उत्खनन् गर्दै गरेको अवस्थामा बुधबार स्काभेटरको साँचोसहित एउटा ट्रिपर उर्लाबारी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।
दिउँसो करिव ३ बजे नगरपालिकाका मेयर गंगाप्रसाद खरेलसहितको टोलीले खोलाबाट नदीजन्य पदार्थ लोड गरी गन्तव्यतर्फ लग्दै गरेको प्रदेश १,५२३२ नम्बरको टिप्पर नियन्त्रणमा लिईएको नगर प्रमुखको सचिवालयले जनाएको छ ।




सोल्टि खोलामा पुर्व पश्चिम ‘एसियन हाइवे’का लागि पुल निर्माण भइरहेको स्थानबाट हाकाहाकी नदीजन्य पदार्थ उत्खनन्सँगै पैठारी गर्न थालिएपछि कारबाही थालिएको मेयर खरेलले बताए । पुल निर्माण प्रयोजनका लागि खोला उत्खनन् भएपनि बालुवा–गिट्टी निकाल्ने अनुमति कसैलाई नभएको उनले बताए ।
अझ राजमार्गको १ सय ५ मापदण्डभित्रै सडक आयोजना प्रयोजन भन्दै जथाभावी स्काभेटर लगाएर खन्ने कार्य दण्डनीय भएको मेयर खरेलको भनाई छ ।
यता नियन्त्रणमा राखिएको ट्रिपरलाई आवश्यक कारवाहीको लागि नगरपालिका परिसरमा राखिएको छ ।

यसैबिच हाईवे निर्माण गर्ने क्रममा विना सुचना मेयर खरेलसहितको टोलीले साँचोसहित टिप्पर नियन्त्रणमा लिनु अनुचित भएको बताउदै साँझ नगरपालिका गेटमा आधा दर्जन बढि टिप्पर सहित हाईवे निर्माणमा खटिएकाहरु धर्ना दिन पुगेका थिए।
साईड ईन्चार्ज नारायण प्रसाद कोईरालाकाले एलिमेन्ट भित्रकाे माटाे उठाउने क्रममा विना जानकारि नगरपालिकाका मेयर खरेलसहितको टोलीले टिपर र स्काभेटरकाे साँचो समेत खाेसेर लानु ज्यादती भएको बताएका छन् । उनले भने,” हाईवेकाे दाँयाबाँया २५÷२५ मिटरमा पर्ने संरचना भत्काउने, मर्मत गर्न पाउने, आवश्यक उत्खनन् गर्न पाउने र त्यसलाई मापदण्ड अनुसार प्रयाेग गर्न मिल्ने भए हाईवेमै प्रयाेग गर्ने नभए डम्पिङ गर्ने सकिनेछ । यसै क्रममा दिउसो काम गर्दै गरेको अवस्थामा नगरपालिकाले साँचो खोस्नु गलत हो । हामीले छलफल गरौ भन्दा नमानिकन मेयर सा’बले नियन्त्रणमा लिनुभयो ।”
यता आधा दर्जनभन्दा बढि टिप्परसहित बुधबार साँझ उनीहरु उर्लाबारी नगरपालिकामा धर्ना दिन पुगेका थिए । सोहि क्रममा उनीहरुमध्येबाट एकजना कसैले ड्यूटिमा खटिएका नगर प्रहरीलाई “पेल्दे पेल्दे…” भनेसँगै पालिकाको गेटबाहिर मुडभेडको अवस्था सिर्जना भएको थियो । स्थितीलाई सामान्य बनाउन जनपथ प्रहरी , सशस्त्र प्रहरी र जनप्रतिनिधिहरु उपस्थित भएका थिए ।
यस्तै असन्तुष्ट देखिएका एक टिप्पर चालक भन्छन्,” हामीले कसैलाई पनि पेल्न लगाएका छैनौँ , त्यस्तो कुरा कसैले भनेका छौनौँ । नगर प्रहरीले बिना गल्ती यतिकै आरोप लगाउदै हाम्रो एक साथीलाई घाँटीमा समातेर तानेको छ, नगर प्रहरीले खुट्टा ढोगेर माफी माग्नुपर्छ। ”
त्यस्तैगरी माहोललाई भड्किन नदिन प्रशासनले पालिका अगाडि राखिएका टिप्परलाई हटाउने प्रयास गरेको थियो । करिव २० मिनेटपछि त्यहाको अवस्था सामान्य भएको थियो ।
नगर प्रमुख खरेलको सचिवालयकाअनुसार बिहिबार उक्त विषयमा सौहार्दपुर्ण तरिकारे वार्ता गरिनेछ ।
उता राजमार्ग निर्माणको काम गर्ने क्रममा नगर प्रमुखले अवरोध गरेको बताउदै सहमतिमा नआए निर्माणको सम्पुर्ण काम स्थगन गर्ने भेकल ईन्चार्ज हरि पराजुलीले बताए ।




