दिलीप पोखरेल / उर्लाबारीगत माघ १८  गते नेपाल जेसीजका पुर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुललाले उर्लाबारी वडा नम्बर ७ स्थित स्कुलडाँडा चोकमा अनावरण गरेको जेसिज स्तम्भ विवादास्पद बनेको छ ।

स्थानियको भावना र सहमतीविना स्कुलडाँडाको नाम परिवर्तन गराउने अभिष्टले जेसीज चोक भनि नामाकरण गरिएसँगै सो स्तम्भले सदियौँदेखिको स्कुलडाँडाको पहिचान मेटिएको भन्दै स्थानियले आक्रोश व्यक्त गरेका छन् ।

जेसीजले सो स्तम्भ निर्माण गरेलगत्तै उर्लाबारीका जनप्रतिनिधीलाई उपस्थित समेत नगराई गत माघ १८ गते  उद्घाटन गरेको थियो । सो क्रममा नया नामाकरण गरिएसँगै वडाका टोलटोलमा नामाकरणकै विषयमा खैलाबैला मच्चिएको थियो ।

स्कुलडाँडा टोल विकास समितीका अध्यक्ष गोविन्दराज अधिकारीले टोल समिती र स्थानियलाई थाहै नदिई र कुनै सहभागि नगराई नामाकरण गरेकोप्रति  खेद व्यक्त गरेका छन् ।  उनले भने,”  चोकको नाम जेसीज चोक भनेकोमा स्थानियवासी मान्न तयार छैनौं । सदियौंदेखीको नामलाई जेसीज चोक भन्नु गलती हो । यसलाई खारेज गरिनुपर्छ । यसबारे उर्लाबारी जेसीजले आधिकारिक धारणा दिनुपर्छ ।”

यस्तै ७ नम्बर वडाका पुर्व वडाध्यक्ष वीरवल थापाले स्तम्भ अनावरण गर्ने क्रममा चोकको नामाकरण गर्ने विषय कसैले पनि परिकल्पना नगरेको बताए । उनले भने, ” भुलबस भनिएको हुनसक्छ तथापी यसलाई सच्याउन आवश्यक छ । स्थानियले पहिचान झल्किने गरि होर्डिङ बोर्ड लगाउने कार्य स्वागतयोग्य छ । “

यस्तै जेसीजका सदस्य समेत रहेका स्थानिय युवा नितम चौहानले सस्तो लोकप्रियता हाँसिल हुने अभिप्रायले कुनै जनप्रतिनिधीको उपस्थिती समेत नगराई अनावरण गरिएको सो स्तम्भ विवादास्पद बनेकोमा आफुलाई दु:ख लागेको बताए । उनले भने, ” जेसीज जस्तो संस्था आज विवादास्पद बन्न पुग्यो । समाजले हाम्रो कामलाई आँखा चिम्लेर तालि पिट्थे अब गाली गर्न सुरु भएको छ । यसमा सबैको ध्यान केन्द्रित होस् । “

यस्तै उनले स्कुलडाँडालाई दिईएको नयाँ नामाकरण  कुनै पनि हालमा स्विकार्न नसकिने बताउदै यसलाई खारेजी गर्न युवाहरु जुटिसकेको बताए ।

त्यस्तैगरि उक्त होर्डिङ बोर्ड लगाउन उपस्थित भएका एक युवकले आफ्नो नाम नबताउने शर्तमा भने,” पहिचान मेटाउने अभिष्टले  बनाईएको सो स्तम्भ हामी भत्काउन समेत तयार छौँ । उर्लाबारी जेसीजले अभिव्यक्ति सुधार्नुपर्छ र स्थानियसँग माफी समेत माग्नुपर्छ ।”

गत माघ ११ गते के भएको थियो ?

गत माघ ११ गते अर्थात् जनवरी २४ तारिख, शुक्रबार  विहान बाक्लो हुस्सु र चिसो मौसमका बिच उर्लाबार‌ी जेसीजद्वारा निर्मित जेसीज स्तम्भ अनावरण गर्ने कार्यक्रम रहेको थियो।  उसो त सो दिन उर्लाबारी जेसीजका निवर्तमान अध्यक्ष नविन श्रेष्ठको अध्यक्षको हैसियतमा अन्तिम दिन समेत थियो । भोलीपल्ट शनिबार जेसीज वर्ष २०२५ को नया टीमलाई पद हस्तान्तरण कार्यक्रम रहेको थियो ।

स्रोतकाअनुसार उनी आफ्नो कार्यकालमा उर्लाबारीमा केहि नौलो काम गर्न र नया छाप छोड्न चाहन्थे । जुन चाहनाअनुरुप उनकै सक्रियतामा करिव २ लाख ५० हजार लागतमा निर्माण भयो जेसीज स्तम्भ ।

स्रोतकाअनुसार उनले आफु अध्यक्षकै हैसियतमा सो स्तम्भको हतारहतार अनावरण गराएका हुन् । स्कुलडाँडा- बरगाछी सडकको प्रवेशद्वार राधिका मावि अगाडि निर्मित सो स्तम्भ निर्माणको लागि नगरपालिका र वडाले मौखिक सहमति दिईएको पाईएको छ ।  तर हतारमा तय भएको सो अनावरण कार्यक्रममा न त उर्लाबारीका नगरप्रमुख देखिए न त उपप्रमुख । साथै वडाध्यक्ष समेत अनुपस्थित भएतापनि सो कार्यक्रम अनावरण गरिएको थियो ।

यस्तै कतिपयले सो स्तम्भ हतारमा अनावरण हुनु केवल प्रचारवादी भएको भन्दै जेसीजको आलोचना समेत गर्न थालेका छन् । सो स्तम्भको शिलालेखमा जेसीजका निवर्तमान अध्यक्ष श्रेष्ठसहित कार्यसमितीलगायतको  नाम समेत लेखिएको छ ।

सो अनावरण कार्यक्रममा प्रमुख अतिथीको रुपमा आमन्त्रीत थिए जेसीजका पुर्व केन्द्रिय अध्यक्ष भोलेश्वर दुलाल । उनले अनावरण गरि मन्तव्य राख्ने क्रममा ‘ आजदेखी यो चोकको नाम जेसीज चोक हुनेछ, यो अब जेसीज चोकको रुपमा चिनिनेछ….’ भन्ने विवादास्पद अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिकै कारण आज जेसीज जस्तो सामाजिक रुपमा ख्याती पाएको संस्थाप्रति स्थानियले आक्रोश व्यक्त गर्न थालेका छन् ।

यसैबिच असन्तुष्ट बनेका स्थानियले सो स्तम्भको अगाडिपट्टी (उत्तरतर्फ) सोमबार स्कुलडाँडा अंकित एक होर्डिङ बोर्ड लगाएका छन् ।

यस विषयमा उर्लाबारी जेसीजका अध्यक्ष भाईटीका भट्टराईसँग फोन सम्पर्क गर्दा उनले भुलबस प्रमुख अतिथीले अभिव्यक्ती दिएको हुनसक्ने बताए । उनले भने, “उर्लाबारी जेसीज उर्लाबारीको ऐतिहासिकतामा गर्व गर्ने संस्था हो । स्कुलडाँडाको नाम परिवर्तन गरेर जेसीज चोक बनाउने काँहिकतै सोच्ने कुरै हुदैन । पुर्व अध्यक्षले दिनुभएको सो अभिव्यक्ति जेसीजको कुनै अभिलेखमा समेत नलेखिएको र नराखिएको स्पष्ट पार्न चाहान्छौँ । यसमा हाम्रो ध्यानाकर्षण भएको छ । हामी यो विवादको निकास खोज्नेछौँ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय