उर्लाबारी वडा नम्बर ३ मंगलबारेस्थित योङ किड्स मण्टेश्वरीले ८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ । शनिबार मण्टेश्वरीको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच सो कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमका प्रमुख अतिथि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका मेडिकल सुपरिटेण्डेन्ट डा. रविकुमार शाहले सानो उमेरका बालबालिकाको शिक्षामा मन्टेश्वरी पद्धतिको भूमिका निकै महत्वपूर्ण रहने धारणा व्यक्त गरे । यस्तै उनले सो पद्धतिले बालबालिकाको सृजनशीलता, आत्मनिर्भरता र सकारात्मक सोच विकास गर्न सहयोग पुर्याइरहेको बताउदै साना उमेरमा सिकाइएको अनुशासन, संस्कार र सद्गुण जीवनभरको मार्गदर्शन बन्न सक्ने बताए ।





सो अवसरमा विद्यार्थीहरुले विविध साँगीतिक कार्यक्रम प्रस्तुति, पुरस्कार वितरण र विद्यार्थी तथा अभिभावक सम्मान समेत गरिएको छ । जसअर्न्तगत अनुशासित विद्यार्थीमा कक्षा युकेजीमा अध्ययनरत आद्या खड्का र निश्चित बगाले सम्मानित भए भने व्यक्तिगत सरसफाईमा उत्कृष्ठता हासिल गरेका नर्सरी कक्षामा अध्ययनरत तयाबुङ राई र कक्षा एकमा अध्ययनरत आहान थापा सम्मानित भएका छन् । यस्तै उत्कृष्ट अभिभावकको रुपमा रोजा निरौला र अबुदय पौडेलका अभिभावक सम्मानित भएका छन् । साथै गत मंसिरमा सम्पन्न विभिन्न खेलकुदका विधाहरुमा उत्कृष्ट हुने ३३ भन्दा बढि विद्यार्थीहरु सम्मानित भएका छन् ।
सम्मानित विद्यार्थी तथा अभिभावकलाई कार्यक्रमका प्रमुख अतिथि मेसु डा. शाह र विशिष्ट अतिथि सिमला लावतीले ट्रफी र सम्मानपत्रले सम्मानित गरेका छन् ।
मण्टेश्वरीकी प्रिन्सिपल निरु भट्टराईको सभाध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो । विद्यालयकी शिक्षक रितिका सुवेदिले संचालन गरेको सो कार्यक्रममा कक्षा एकमा अध्ययनरत श्रेयाना कार्की र भाईस प्रिन्सिपल रुपा बस्नेत कोईरालाले स्वागत मन्तव्य राखेका थिए ।
वि.सं. २०७३ मा स्थापित सो मण्टेश्वरीमा प्ले ग्रुपदेखी कक्षा एक सम्म अध्यापन हुदै आएको छ । १ सय ९ जना विद्यार्थीहरु अध्ययनरत सो मण्टेश्वरीमा शैक्षिक शत्र २०८२ देखी कक्षा दुईसम्म अध्यापन हुने बताईएको छ ।




