दिलीप पोखरेल/ उर्लाबारी
सामाजिक सञ्जालमा उर्लाबारी नगरपालिकाको एक तस्बिर अहिले भाइरल बनेको छ, जहाँ नगरप्रमुख गंगाप्रसाद खरेल र प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ताले इलाका प्रहरी कार्यालयलाई दुईवटा साइकल हस्तान्तरण गरिरहेका छन्।

उक्त तस्बिर भाइरल बनेसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया देखा परेका छन्। कतिपयले तस्बिरको मजाक उडाएका छन्। एक प्रयोगकर्ताले लेखेका छन्, “भ्रष्टचारी नेताहरू महँगा गाडीमा, राष्ट्रसेवक प्रहरी साइकलमा।” अर्का प्रयोगकर्ताको भनाइ छ, “चोर अघिअघि बाइकमै, प्रहरी पछिपछि साइकलमै!”

यता, उर्लाबारी नगरपालिकाले यस विषयमा स्पष्ट गर्दै प्रहरीको मागबमोजिम साइकल उपलब्ध गराइएको जानकारी दिएको छ। मेयर खरेलको सचिवालयबाट जारी गरिएको पोष्टमा भनिएको छ, “इलाका प्रहरी कार्यालय उर्लाबारीले माग गरेअनुसार दुईवटा साइकल प्रदान गरिएको हो।”

मेयर खरेलका प्रेस संयोजक मिलन के राउतले जानकारी दिएअनुसार, “नगरपालिकामा प्रहरीले कार्यालय प्रयोजनको लागि साइकल माग गरेका थिए, सोही अनुरूप उपलब्ध गराइएको हो। विद्युतिय साइकल वा मोटरसाइकल माग भएको भए त्यसबारे पनि ध्यान दिइनेथियो।”

यता यस विषयमा इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक रञ्जन बरालले भने, “साइकलहरू रातको समयमा नगरको कोर एरियामा गस्ती गर्न प्रयोग गरिनेछ। अहिले पनि हाम्रो मोवाइल युनिट तथा पैदल गस्ती सक्रिय छ। साइकलले भित्री क्षेत्रहरूमा पहुँच सजिलो बनाउनेछ।”

विद्युतिय साइकल किन नमागिएको भन्ने प्रश्नमा प्रहरी निरीक्षक बरालले प्राविधिक समस्या र मर्मत सम्भारको झन्झट हुनसक्ने देखिएकाले त्यसको सट्टा साधारण साइकल माग गरिएको जानकारी दिए।

यस्तै उनले भने , “नेपाल प्रहरी जनताको शान्ति सुरक्षाका लागि पैदल, साइकल, मोटरसाइकल तथा भ्यानमार्फत २४सै घण्टा खटिएको छ। जनतालाई ढुक्क साथ बस्न अनुरोध गर्दछौँ । ”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय