
काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको नयाँ कार्यसमिति आज हुने निर्वाचनबाट नै टुंगो लगाइने भएको छ । सर्वसम्मत कार्यसमिति चयन गर्ने प्रयास असफल भएपछि आज बिहान ८ बजेदेखि मतदान शुरु हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अध्यक्ष क्षितिज थेबेलाई नै अध्यक्ष दोहोर्याउन चाहेको भएपनि वर्तमान महासचिव सुमन पुरीले दाबी नछोडेपछि मतदान प्रक्रियामै जाने भएको हो ।
अध्यक्ष मण्डलसँगको परामर्शमा निर्वाचन कमिटीले आज बिहान ८ बजेदेखि मतदान सुरु हुने सूचना प्रकाशन गरेको छ ।
राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी १० औँ महाधिवेशनमा क्षितिज थेबे र सुमन पुरी दुवै जना प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन । वर्तमान अध्यक्ष थेबेले आफ्नो नेतृत्वमा उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उम्मेदवारी दर्ता गराएका छन् भने महासचिवमा महेश चौलागाईँ, उपमहासचिवमा उपेन्द्र शाही रहेका छन ।
त्यस्तै थेबे प्यानलबाट खुला सचिवमा मदन भण्डारी र देबु बस्नेत र महिला सचिवमा निशा लिम्बु र मधेसी सचिवमा मोबिन आलमको उम्मेदवारी दिएका छन ।
त्यस्तै वर्तमान महासचिव समेत रहेका पुरीले आफ्नो प्यानलबाट उपाध्यक्षमा पर्वत भण्डारी र प्रकाश गौतम, महासचिवमा कुवेर अधिकारी र उपमहासचिवमा खेमराज शर्मालाई उम्मेद्वार बनाएका छन् । त्यसैगरी सचिवमा खुलातर्फ ध्रुव खड्का र अरुण कुँवर, महिला सचिवमा रेशु तामाङ र मधेसीतर्फ चितरञ्जन यादव उम्मेदवार बनेका छन् ।
खुल्ला सचिवालय सदस्यमा पाँच महिलासहित १६ सदस्य रहने व्यवस्था छ । त्यस्तै कोशी प्रदेशमा १४ खुल्ला सदस्य र ७ महिला गरी २१ सदस्य, मधेशमा ८ जिल्ला समेट्ने गरी ८ खुल्ला र ५ महिला गरी १३ सदस्य, बाग्मती प्रदेशमा १३ जिल्ला समेट्न १३ खुल्ला र ७ महिला गरी २० सदस्य, गण्डकीमा ११ जिल्लालाई समेट्न ११ खुल्ला र ६महिला गरी १७ सदस्य, लुम्बिनीमा १२ जिल्ला समेट्ने गरी १२ खुल्ला र ६ महिला गरी १८ सदस्य रहने व्यवस्था छ ।
त्यस्तै कर्णाली प्रदेशको १० जिल्ला समेट्न १० खुल्ला र ५ महिला गरी १५ तथा सुदूर पश्चिम ९ जिल्ला समेट्ने ९ खुल्ला र ५ महिला गरी १४ सदस्य रहने छन् । अन्तर जिल्ला विशेष प्रदेशमा ५ खुल्ला र ३ महिला गरी ८ सदस्य रहने व्यवस्था छ। अधिवेशनमा झन्डै १८ सय ३८ सदस्य मतदानमा सहभागिता जनाउने छन् ।



