
दमक, ९ साउन । झापाको दमकस्थित युनिभर्सल कलेज अफ टेक्नोलोजी एण्ड म्यानेजमेन्टले यस शैक्षिक सत्रदेखि B.I.T. (Bachelor in Information Technology) B.H.M. (Bachelor in Hotel Management) कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
लामो समयदेखि विद्यार्थी र अभिभावकले माग गर्दै आएका प्राविधिक तथा व्यवसायिक अध्ययनका आवश्यकता पूर्तिका लागि यो कार्यक्रम सुरु गरिएको कलेजका कार्यकारी निर्देशक टेकनाथ भण्डारीले पत्रकार सम्मेलनमा बताउनुभयो ।
चार वर्षे स्नातक तहमा आधारित यी कार्यक्रम अन्तर्राष्ट्रिय स्तरमा समेत मान्य हुने किसिमका कोर्षहरु रहेका कारण अध्ययनको क्रममा विद्यार्थीहरुले व्यावहारिक शिक्षा, इन्टरनशिप र अन्तर्राष्ट्रिय स्तरको अभ्यासमार्फत दक्षता हासिल गर्ने अवसर पाउने कलेज प्रशासनले जनाएको छ ।
CMAT परीक्षा अनिवार्यः
यस कार्यक्रममा भर्ना हुन इच्छुक विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय TU द्वारा सञ्चालन हुने CMAT परीक्षा उत्तीर्ण गर्नुपर्नेछ । यस वर्षको प्रवेश परिक्षा भदौ २१ गते हुने भएकाले इच्छुक विद्यार्थीहरुलाई समयमै फाराम भरी परीक्षा दिन कलेजले आग्रह गरेको छ ।
साथै, विद्यार्थीहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कलेजले यस वर्ष पनि निःशुल्क CMAT तयारी कक्षा सञ्चालन गर्ने जनाएको छ ।
गुणस्तरीय शिक्षामा जोडः
कलेज सञ्चालकहरुले प्राविधिक शिक्षा र व्यवसायिक अध्ययन वर्तमान समयको अपरिहार्यता भएको भन्दै नयाँ कार्यक्रम सुरु गर्नुको उद्देश्य विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको बताए ।
यस्तै, विगत दुई दशकदेखि कोशी प्रदेशमा उत्कृष्ट शैक्षिक नतिजा ल्याउँदै आएको अस्था कलेज अफ म्यानेजमेन्टले पनि यस शैक्षिक सत्रदेखि विशेष कार्यक्रमहरु थप सञ्चालन गर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
सोमबार कलेज प्राङगणमा आयोजित पत्रकार सम्मेलनमा कलेजका सञ्चालक, आस्था कलेज दमक, नमुना कलेज इटहरी, अर्किड कलेज काठमाडौँ प्राध्यापक, शिक्षक, कर्मचारीहरुको उपस्थिती रहेको थियो ।



