उर्लाबारी । उर्लाबारी नगरपालिकाले सार्वजनिक सरोकारका विषयमा विगत तीन वर्षमा उल्लेखनीय र जनहितकारी कार्यक्रम तथा योजनाहरू कार्यान्वयन गरेको जनाएको छ ।
नगर कार्यपालिकाको निर्णयमा आधारित ती कार्यक्रमबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुखले उपलब्धिहरू सार्वजनिक गरेका छन् ।

नगरप्रमुखले स्थानीय तहको दोस्रो निर्वाचनपछि कार्यभार सम्हालेको तीन वर्ष पूरा भएको जानकारी गराउँदै पारदर्शिता, जवाफदेहिता र वित्तीय अनुशासनमा नगरपालिका प्रतिबद्ध रहेको बताए ।
बेरुजु न्युनिकरण तर्फको उन्मुख यात्रा :
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण प्रतिवेदनअनुसार उर्लाबारी नगरपालिकाको कूल लेखापरीक्षण गरिएको रकम २ अर्ब ६३ करोड ५४ लाख ४४ हजार रहेको छ ।
सोहीमध्ये जम्मा १ करोड ६५ लाख ११ हजार, अर्थात् ०.६३ प्रतिशत मात्र बेरुजु देखिएको नगरपालिकाले जनाएको छ ।
पत्रकार सम्मेलनमा नगरप्रमुखले भने–“मोरङ जिल्लाका पालिकामध्ये कम बेरुजु हुने नगरपालिकाको सूचिमा उर्लाबारी तेस्रो स्थानमा आउन सफल भएको छ ।”

बेरुजु र फर्स्यौट विवरण यसप्रकार रहेको छः

२०७९/८० सम्मको कुल बेरुजुः रु ३२,९१,३१,००८

२०८०/८१ को बेरुजुः रु ५,५७,०१,६९५.६६

कुल बेरुजुः रु ३८,४८,३२,७०३.६६

२०७९/८० सम्म समपरीक्षण गरि फर्स्यौटः रु ११,९२,४७,६३४.३१

२०८०/८१ मा प्रतिक्रियाबाट हटाइएको बेरुजुः रु ३,८७,०७,५६७

कुल फर्स्यौटः रु १५,७९,५५,२०१.६९

नगरप्रमुखले लेखापरीक्षण र फर्स्यौट प्रक्रियामा देखिएको सुधार समग्र नगरको वित्तीय सुशासनको संकेत भएको उल्लेख गरे ।
उर्लाबारी नगरपालिकाले पछिल्ला तीन वर्षमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, कृषि र सामाजिक सुरक्षातर्फ महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ । नगर प्रमुखको नेतृत्वमा सम्पन्न कार्यहरूको विवरण अनुसार, नगरको समग्र विकासमा ठोस प्रगति भएको छ ।
सडक पूर्वाधार तर्फः
नगरभित्रको भित्री सडकलाई कालोपत्रे गर्न “आस्पाल्ट” प्रविधिको प्रयोग गर्दै समयमै गुणस्तरीय निर्माण सम्पन्न गरिएको छ । सडक, नाला, कल्भर्ट, तटबन्ध, साइडवाल, पेभिङ ब्लक जस्ता संरचनाहरुको निर्माण तीव्र गतिमा अघि बढाइएको विज्ञप्तीमा सुचित गरिएको छ ।
नगरपालिकाले तीन वर्षमा १७.८ किलोमिटर कालोपत्रे सडक, ३५.२ किमी. ग्राभेल सडक, १२.५९ किमी. पक्की नाला, १७ वटा कल्भर्ट, ९.४ किमी. पेभिङ ब्लक सडक, १६.३८ किमी. साइडवाल, १८ वटा तटबन्ध निर्माण सम्पन्न गरिएको जनाएको छ ।
नगरको गौरवको आयोजनाका रूपमा बक्राहा विष्णु गंगा धाम निर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । उर्लाबारी, रतुवामाई, दमक, पथरीशनिश्चरे र मिक्लाजुङलाई समेट्ने गरी यसलाई धार्मिक पर्यटकीय केन्द्रको रूपमा विकास गरिने योजना पालिकाले लिएको विज्ञप्तीमा जनाइएको छ ।
यसैगरी, सामुदायिक वन क्षेत्रको संरक्षण र सिमसारको प्रवद्र्धन गर्दै पर्यटनलाई बढावा दिने, सामुदायिक साझेदारीमा फूल खेती, बेसार, अदुवा तथा केरा खेती कार्यक्रम सञ्चालनमा ल्याइएको जनाएको छ ।
शिक्षा र स्वास्थ्य क्षेत्रमाः
नगरपालिकाले शिक्षा क्षेत्र सुधारका लागि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघ गठन गरि अघि बढाएको जनाएको छ ।
विद्यालय प्रमुखसँग कार्य सम्पादन सम्झौता गराई गुणस्तर सुधारका काम अघि बढाइएको, क्वालिटी लिटरेसी प्रोजेक्ट अन्तर्गत बहुवर्षीय योजना संचालनमा ल्याई जसअन्तर्गत चालु वर्षमा मात्रै ३ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।
स्वास्थ्य क्षेत्रमा १७४३ घर परिवारको निःशुल्क स्वास्थ्य बीमा, ज्येष्ठ नागरिक र विपन्न वर्गका लागि निःशुल्क औषधि, भिडियो एक्सरे सेवा, सुगर र प्रेसर बिरामीका लागि निःशुल्क उपचार लगायतका कार्यक्रम सञ्चालनमा ल्याएको जनाएको छ ।
यस्तै दुर्गापुरीमा आयुर्वेद औषधालयको भवन निर्माण भई सेवा प्रवाह सुरु गरेको उल्लेख गरेको छ ।
खानेपानी तर्फः
नगरका ५ वटा खानेपानी योजनालाई एउटै प्रणालीमा समेटी २४ सै घण्टा सेवा प्रवाह गर्ने कार्य अघि बढाइएको जनाएको छ। हालसम्म ४६९ घरमा सहुलियतमा धारा जडान गरिएको छ भने चालु वर्षमा थप १०० घरमा जडान गरिने लक्ष्य नगरपालिकाले लिएको उल्लेख छ। उर्लाबारी खानेपानी योजना नेपालकै नमूना योजना घोषित भई संघीय सरकारबाट पुरस्कृत भएको जनाएको छ।
कृषि तथा भू–उपयोग क्षेत्र तर्फः
तिन वर्षमा ३६ प्रतिशत भूमिलाई कृषियोग्य क्षेत्रको रूपमा वर्गीकरण गरी संरक्षण गरिएको जनाएको छ । माटो परीक्षण अनिवार्य बनाउँदै किसान सूचीकरण कार्ड प्रणाली लागू गरी बगर खेतीलाई प्रोत्साहन दिनुका साथै, फूल खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क बीउ तथा मल वितरण गरिएको जनाएको छ ।
सामाजिक सुरक्षा र विपद् व्यवस्थापन तर्फः
विपन्न वर्गलाई औषधोपचार, काजकिरिया सहायता, निःशुल्क एम्बुलेन्स सेवा, शववाहन र राहत सहयोग गरी, आगलागीमा परी घाइते तथा मृतकका परिवारलाई राहत उपलब्ध गराएको उल्लेख गरिएको छ ।
नियम, पारदर्शिता र सार्वजनिक जवाफदेहिता तर्फः
नगरपालिकाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अपनाउँदै सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, प्रयोगशाला परीक्षण र पारदर्शी योजना व्यवस्थापनमार्फत काम गर्दै आउनुका साथै, निजी विद्यालयको शुल्क व्यवस्थापनदेखि लिएर बालमैत्री स्थानीय शासन घोषणासम्मका कार्यहरू गरेको उल्लेख गरेको छ ।
बसपार्क, बजार व्यवस्थापन र सौन्दर्यकरण तर्फः
नगरपालिकाले करिब १८ करोड २८ लाखको लगानीमा उर्लाबारी बसपार्कको स्तरोन्नति अन्तिम चरणमा पुगेको जनाएको छ । अब्यवस्थित बजार व्यवस्थापन, हाटखोला सटर सञ्चालन, पुष्पनगरी नामक रिफ्रेसमेन्ट सेन्टर विकास, मावा सौन्दर्यकरण परियोजना लगायतका कार्यहरू अगाडि बढाइएको जनाएको छ ।
यस्तै दशौं वर्षदेखि अलपत्र उर्लाबारी–मधुमल्ला सडक निर्माण सम्पन्न गरिनुका साथै अतिक्रमित संरचना हटाइएको विज्ञप्तीमा उल्लेख गरेको छ । निजी विद्यालयमा शुल्क नियमन, १० घर विपन्न आवास कार्यक्रम, कर संकलनमा सुधार र बालमैत्री वडा घोषणाको अभियानमा प्रगति गरेको पत्रकार सम्मेलनमा बताइएको छ ।
प्रशासन, कानून निर्माण तथा विकासका क्षेत्र तर्फः
नगरपालिकामा ११ वटा नियमित र २ वटा विशेष गरी जम्मा १४ वटा नगरसभा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जनाएको छ । यसैगरी, १३० वटा कार्यपालिका बैठक, संगठन तथा व्यवस्थापन सर्वेक्षण अपडेट गरी कुल १८८ दरबन्दी स्वीकृत गरिएको, पदपूर्ति संख्या १४१ र रिक्त संख्या ४७ रहेकोमा रिक्त पदहरु भर्न प्रदेश लोक सेवा आयोगमा प्रक्रिया अघि बढाइएको पत्रकार सम्मेलनमा बताइएको छ ।
हालसम्म नगरकार्यपालिकाले कुल १३३ वटा कानुन निर्माण गरिसकेको जनाएको छ। जसमा ३८ वटा ऐन, ३ वटा आचारसंहिता, १४ वटा निर्देशिका, ६६ वटा कार्यविधि, १० वटा नियमावली, १ वटा नीति र १ वटा मापदण्ड समावेश गरेको उल्लेख गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ का प्रमुख उपलब्धिहरूः
३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, अपांगता दिवस र ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको, उपमेयरसँगको समन्वयमा किशोर–किशोरी कार्यक्रम संचालन गरेको, विभिन्न सीप विकास तालिम, अल्जाइमर सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको, अपांगता भएका व्यक्तिहरूलाई परिचय पत्र वितरण शिविर सञ्चालन गरी हालसम्म ९२ थान अपांगता परिचय पत्र र १०४ थान ज्येष्ठ नागरिक परिचय पत्र वितरण गरिएको, ग्रामीण सामाजिक परिचालनमार्फत ७० जना उद्यमीलाई उद्यम विकासमा सहयोग गरेको जनाएको छ ।
शिक्षा, युवा तथा खेलकुद विकास तर्फः
विद्यालयहरूको भौतिक अवस्था, शिक्षक नियमितता, लेखा व्यवस्थापन र जिन्सी व्यवस्थापन अनुगमन गरिएको, राष्ट्रिय योजना आयोगको सहयोगमा शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयको आवश्यकता पहिचान गरी कार्ययोजना निर्माण र कार्यान्वयन गरिएको जनाएको छ ।
यस्तै, खेलकुद प्रवर्धनका लागि विनियोजित रकम बाँडफाँड गरी विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गर्नुका साथै बालविकास केन्द्रहरूको अनुगमन तथा सुपरिवेक्षण गरी सबलीकरणका लागि आवश्यक कार्यक्रम अघि बढाइएको उल्लेख छ।
स्वास्थ्य सेवा तर्फः
नगरपालिकाले चालु वर्षमा ४० जना अति विपन्न, गरिब र सर्वहारा वर्गलाई आकस्मिक स्वास्थ्य सेवा र दीर्घ रोगीको उपचारमा आर्थिक सहायता प्रदान गरिएको जनाएको छ । विपन्न नागरिकहरूका लागि एम्बुलेन्स भाडा र यातायात खर्चको सहयोग गरेको उल्लेख गरेको छ ।
५० नयाँ विपन्न परिवारलाई निशुल्क स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराइएको छ भने हालसम्म १८४३ परिवार लाभान्वित भएको तथ्य पेश गरिएको छ ।
यस्तै आठ प्रकारका कडा रोगहरूमा एक लाख बराबरको उपचार सहुलियतका लागि ८६ जना बिरामीलाई सिफारिस गरिएको जनाएको छ ।
साथै बालबालिकालाई भिटामिन–ए क्याप्सुल र जुकाको औषधि वितरण कार्यक्रम सम्पन्न गरी ३,८६१ जना किशोरीहरूलाई पाठेघरको मुख क्यान्सर बिरुद्धको खोप, १३७ जना मृगौला प्रत्यारोपण, क्यान्सर तथा मेरुदण्ड पक्षघात बिरामीलाई मासिक ५ हजारको दरले औषधि उपचार खर्च उपलब्ध,महिला स्वास्थ्य स्वयंसेविकालाई नसर्ने तथा मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।
सूचना प्रविधि तथा अभिलेख व्यवस्थापन तर्फः
नगरपालिकाले ई–गभर्नेन्स अवधारणालाई कार्यान्वयनमा ल्याउँदै कार्यालयहरूमा अफिस अटोमेसन प्रणाली अपडेट गरेको जनाएको छ । साथै विधुतिय हाजिरी र विद्युतीय ठेक्का प्रणाली सञ्चालन गरी ४४ वटा योजना तथा कार्यक्रमको ठेक्का प्रक्रिया विद्युतीय रूपमा सम्पन्न गरेको उल्लेख गरेको छ । यस्तै सार्वजनिक स्थलहरूमा सिसिटिभि क्यामेरा जडान तथा मर्मत गरि सुरक्षित उर्लाबारी बनाउने कार्यमा अघि बढेको जनाएको छ ।
कृषि तर्फः
नगरपालिकाले मौरी पालनका लागि कृत्रिम आहार वितरण गरी मौरी पालनलाई प्रोत्सहान गरेको जनाएको छ, यस्तै फुलखेती प्रवद्र्धन, उन्नत जातको मकै र धानको बिउ वितरण तथा मकै रोप्ने मेशिन वितरण कार्यक्रमहरू संचालन गरिनुका साथै माटो परीक्षणका लागि डिजिटल तराजु, मोइस्चर मिटर लगायतका उपकरण खरिद गरी माटो परिक्षण कार्यक्रम अघि बढाइएको, मल्चिङ प्लाष्टिक, विषादी स्प्रेयर वितरण र बगर खेती विकास कार्यक्रमहरू समेत सफलतापूर्वक सञ्चालनमा ल्याएको जनाएको छ ।
पशु स्वास्थ्य विकास, सामाजिक सुरक्षा र रोजगार क्षेत्र तर्फः
नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा पशु स्वास्थ्य, सामाजिक सुरक्षा तथा रोजगारी क्षेत्रहरूमा विविध कार्यक्रम सञ्चालन गरी जनतालाई व्यापक सेवा प्रवाह गरेको जनाएको छ ।
पशु स्वास्थ्य विकास कार्यक्रम अन्तर्गत, प्रयोगशालामा गोबर, पिसाब, दुध र रगत परीक्षण गरी कुल २७२ परीक्षण सम्पन्न गरिएको छ जसबाट २६६ जनाले लाभ लिएका छन् । प्राथमिक उपचारमा गाईभैसी, बाख्रा, बंगुर, कुखुरा, कुकुर लगायतमा ४१,९५५ उपचार सेवा दिइएको र ५,८१९ जना पशुपालक लाभान्वित भएका छन् । कृत्रिम गर्भाधान कार्यक्रम अन्तर्गत १,६८८ वटा कृत्रिम गर्भाधान गरिएको छ जसबाट उही संख्यामा लाभान्वित भएका छन् । रोग निरोधक खोप कार्यक्रममा लम्पि स्किन डिजिज, खोरेत, रेबिज, पिपिआर, स्वाइन फिवरलगायत खोपहरू उपलब्ध गराइएको छ । साथै १७५ कुकुरको सामुदायिक बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । हिउदे र बर्षे घाँसका जैविक बीउ वितरण गरी सयौं कृषक लाभान्वित भएको जनाएको छ ।
यस्तै, सामाजिक सुरक्षा तथा पञ्जिकरणमा चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीहरूको बायोमेट्रिक प्रणालीमार्फत नविकरण र नयाँ दर्ता गरि कुल ६,६६० जना लाभग्राहीको नविकरण सम्पन्न गरिएको, पहिलो देखि तेस्रो त्रैमासिकसम्म ७ हजारभन्दा बढी लाभग्राहीलाई करिब रु. २१ करोड बराबर रकम खातामा सोझै भुक्तानी गरिएको जनाएको छ । यसैबीच जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, सम्बन्ध विच्छेद, बसाई सराई लगायत २,१८३ वटा घटनाहरू दर्ता गरिएको पत्रकार सम्मेलनमा तथ्य प्रस्तुत गरिएको छ ।
सहकारी तथा संघ संस्था क्षेत्र मा चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म १७ वटा सामाजिक संस्था र ५ वटा सहकारी संस्था दर्ता गरी अनुगमन कार्य निरन्तर जारी रहेको जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३० वटा श्रममूलक आयोजना सम्झौता भएका मध्ये ११ योजना भुक्तान भइसकेका जनाएको छ । १३५ जना बेरोजगारलाई न्यूनतम रोजगारी प्रदान गरिएको छ भने २९९ जनालाई पुनःश्रम स्वीकृति पत्र उपलब्ध गराइएको उल्लेख छ । वैदेशिक रोजगारीमा गएको व्यक्तिको परिवारलाई आर्थिक सहयोग, क्षतिपूर्ति र बालबालिकालाई छात्रवृत्ति प्रदान गर्न सफल भइसकेको छ । साथै, ५० दिनको कार्यस्थलमा आधारित डकर्मी तालिम सम्पन्न गरिएको जनाएको छ ।
न्यायिक कार्यसम्पादन तर्फः
उर्लाबारी नगरपालिकाले न्यायिक समितिद्वारा विविध विवादको समाधान गर्दै सामाजिक शान्ति र न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेको छ । चालु आवमा दर्ता भएका ५२ वटा विवादमध्ये २० वटा समाधान भइसकेको र बाँकी ३२ विवाद प्रक्रिया अन्तर्गत रहेका जनाएको छ ।
यस्तै नगरपालिकाको कार्यालयमा २४ सै घण्टा आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना गरी दमकलले नगरक्षेत्र र बाहिरका आगलागीका घटना नियन्त्रणमा छिटो र प्रभावकारी भूमिका निर्वाह गर्दै चालु आवमा नगरक्षेत्रका २२ र बाहिरका १८ आगलागी नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
यस्तै पालिकाबाट सञ्चालित एम्बुलेन्स सेवा मार्फत २०६ जनालाई निशुल्क तथा सशुल्क सेवा दिइएको छ भने शववाहनबाट १८५ जनालाई सेवा उपलब्ध गराइएको र विभिन्न विपद् पीडित परिवारहरूलाई रु. ३,६२,००० राहत र आर्थिक रूपमा विपन्न ३७ जनालाई रु. २,८९,०३२ सहयोग प्रदान गरिएको उल्लेख गरेको छ ।
नगरपालिकाका आगामी योजनाहरूः
उर्लाबारी नगरपालिकाले आगामी २ वर्ष भित्र विभिन्न पूर्वाधार तथा विकास योजनाहरू सम्पन्न गर्ने लक्ष्य राखेको छ।
१. झुम्राहा, देविझोडा, बाँसेचौरी, इलाका प्रशासन कार्यालय जाने बाटो लगायतमा बक्स कल्भर्ट निर्माण गर्ने कार्य थालिने ।

२. समुदायको सहभागितामा अत्याधुनिक प्रविधिमा आधारित फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्ने ।
३. पुष्पनगरि, चोक उत्तर बजार सौन्दर्यीकरण गरी दक्षिणतर्फ पनि विस्तार गरिने ।

४.बसपार्क निर्माण, सबै सामुदायिक विद्यालयमा पूर्वाधार सुधार, राजघाट स्वास्थ्य चौकीलाई नगर अस्पताल र पशुपंक्षी विकास शाखालाई भेटेरिनरी अस्पतालमा रुपान्तरण गर्ने ।
५.वडा नं. ५ मा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गरी अन्य स्थानहरूमा पनि विस्तार गरिने ।
६. अपाङ्गमैत्री भवन सञ्चालन गरी अपाङ्गता भएका व्यक्तिहरुको हित प्रवद्र्धन गरिने।

७.बक्रा करिडोर र कृषि मार्ग निर्माण, उज्यालो उर्लाबारी अभियानको विस्तार, वडा नं. ४ कार्यालय भवन निर्माण लगायत महत्वपूर्ण योजनाहरू अघि बढाइने ।

८.नारी शिल्पकलाको जग्गामा प्लानेटोरियम निर्माण तथा कोल्डरुम निर्माण सुरु गरिने ।

.परापर्यटन प्रवद्र्धनका लागि वडा नं. ८ र ९ मा रहेको रातेहोली क्षेत्रको विकास गरिने ।
भावि योजना पश्चात नगर प्रमुखले सम्वोधन गर्दै बढ्दो जनसंख्या र सीमित स्रोतसाधनबीच पनि व्यवस्थित र समृद्ध नगर निर्माणका लागि पर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय