उर्लाबारी, २१ साउन । मोरङको उर्लाबारीमा केही दिनयता खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएको छ। उपभोक्ता ग्यासको खोजीमा पसल–पसल धाउन बाध्य भइरहेका छन् भने व्यवसायीले मागअनुसार ग्यास नपठाइएकाले समस्या उत्पन्न भएको दाबी गरेका छन्। अर्कोतर्फ नेपाल आयल निगमले भने देशभर एलपी ग्यासको पर्याप्त मौज्दात रहेको र आपूर्तिमा कुनै समस्या नरहेको दाबी गर्दै आएको छ।
यही विरोधाभासबीच उर्लाबारी उद्योग वाणिज्य संघले ग्यास व्यवसायी, स्थानीय प्रशासन, प्रहरी तथा सरोकारवालासँग छलफल गरी वास्तविक अवस्था बुझ्ने प्रयास गरेको छ।




उद्योग वाणिज्य संघका अध्यक्ष तारामान सिरेङको अध्यक्षतामा सम्पन्न छलफलमा उर्लाबारीका ग्यास डिलर, इलाका प्रहरी कार्यालय उर्लाबारी, उर्लाबारी नगरपालिकाको बजार अनुगमन समिति, कोशी ग्यास व्यवसायी संघ मोरङका प्रतिनिधि तथा अन्य व्यवसायीहरूको सहभागिता रहेको थियो।
छलफलमा बजारमा देखिएको ग्यास अभावको वास्तविक कारण, उपभोक्तालाई सहज आपूर्ति कसरी सुनिश्चित गर्ने तथा कृत्रिम अभाव हुन नदिने विषयमा विस्तृत छलफल भएको थियो।
छलफलमा सहभागी अधिकांश व्यवसायीले बजारमा देखिएको संकटको दोष आफूहरूमाथि थोपर्न नमिल्ने बताएका छन्।
उनीहरूका अनुसार सामान्य अवस्थामा प्राप्त हुने ग्यासको तुलनामा अहिले करिब ५० प्रतिशत मात्रै ग्यास कम्पनीहरूले उपलब्ध गराइरहेका कारण बजारको वास्तविक माग धान्न नसकिएको बताए ।
व्यवसायीहरूले कम्पनीबाट पर्याप्त ग्यास प्राप्त भए तत्काल सबै उपभोक्तालाई सहज रूपमा वितरण गर्न सकिने स्पष्ट पारे। ग्यास लुकाउने वा कृत्रिम अभाव सिर्जना गर्ने उद्देश्य आफूहरूको नरहेको उनीहरूको दाबी थियो।
उद्योग वाणिज्य संघले व्यवसायीहरूलाई अनावश्यक रूपमा ग्यास मौज्दात नगर्न आग्रह गरेको छ।
संघले उपलब्ध ग्यासलाई पारदर्शी ढंगले सबै उपभोक्तामाझ समान रूपमा वितरण गर्न तथा अभावको अवस्थामा जिम्मेवार व्यवसायिक आचरण अपनाउन व्यवसायीहरूलाई अनुरोध गरेको छ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख नविन ओलीले ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, बिक्री वितरण रोक्ने, लुकाउने वा कालोबजारी गर्ने जोसुकैलाई पनि कानुनअनुसार कारबाही गरिने बताईन ।
उर्लाबारी नगरपालिकाको बजार अनुगमन समितिका सदस्य भरत अधिकारीले पनि अनुगमनका क्रममा ग्यास लुकाउने, बढी मूल्य असुल्ने, कृत्रिम अभाव सिर्जना गर्ने वा कालोबजारी गरेको पाइए कानुनी कारबाही गरिने जानकारी दिए।
कोशी ग्यास व्यवसायी संघ मोरङका अध्यक्ष सुनिल बोहोराले बर्तमान संकटको मुख्य कारण ग्यास कम्पनीहरूबाट पर्याप्त आपूर्ति नहुनु रहेको बताए।
उनका अनुसार डिलरहरूले चाहेर पनि पर्याप्त ग्यास वितरण गर्न सक्ने अवस्था छैन, किनकि कम्पनीबाटै मागअनुसार सिलिन्डर उपलब्ध भइरहेको छैन।
यता स्थानीय बजारमा व्यवसायीहरूले कम्पनीबाट कम आपूर्ति भइरहेको दाबी गरिरहँदा नेपाल आयल निगमले भने देशभर ग्यासको अभाव नरहेको जनाएको छ।
निगमका अनुसार भारतबाट नियमित रूपमा एलपी ग्यास आयात भइरहेको छ र उद्योगहरूलाई आवश्यक परिमाणमा ग्यास उपलब्ध गराइएको छ। केही उद्योगमा अस्थायी रूपमा सिलिन्डर व्यवस्थापनको समस्या देखिए पनि समग्र आपूर्तिमा कमी नरहेको निगमको भनाइ छ। निगमले उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न समेत आग्रह गरेको छ।
उर्लाबारीको अवस्था हेर्दा उपभोक्ताले ग्यासका लागि दिनौँ कुर्नुपर्ने, पसल–पसल धाउनुपर्ने तथा खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था देखिएको छ। यस्तो अवस्थामा नेपाल आयल निगमले “ग्यास पर्याप्त छ” भन्ने दाबी गरे पनि स्थानीय बजारमा भने त्यसको प्रभाव देखिएको छैन।
यदि निगमको दाबी सही हो भने कम्पनीबाट डिलरसम्म र डिलरबाट उपभोक्तासम्मको आपूर्ति शृङ्खलामा कहाँ समस्या उत्पन्न भइरहेको छ भन्ने विषयमा सम्बन्धित निकायले गम्भीर अनुसन्धान गर्नुपर्ने देखिन्छ।
उर्लाबारी उद्योग वाणिज्य संघको पहलमा भएको छलफलले तत्कालका लागि सबै पक्षलाई एउटै ठाउँमा ल्याएको भए पनि समस्या समाधानको मुख्य जिम्मेवारी अब आपूर्ति कम्पनी, नेपाल आयल निगम र नियामक निकायहरूको काँधमा पुगेको छ।
कम्पनीहरूले मागअनुसार ग्यास उपलब्ध गराउने, निगमले आपूर्ति शृङ्खलाको प्रभावकारी अनुगमन गर्ने तथा स्थानीय प्रशासनले बजारमा कृत्रिम अभाव, कालोबजारी र बढी मूल्य असुलीमाथि कडा निगरानी राख्ने हो भने मात्रै उपभोक्ताले राहत पाउने अवस्था देखिन्छ।
अन्यथा, कागजमा “ग्यास प्रशस्त” रहेको दाबी भइरहँदा भान्सामा चुलो नबल्ने विडम्बना अझै केही समय कायम रहने संकेत देखिएको छ।




