उर्लाबारी, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नाम जोडेर सार्वजनिक भएको अडियोबारे आफूलाई कुनै चासो नरहेको बताएका छन्।
उनले कांग्रेसको आधिकारिकतासम्बन्धी राजनीतिक तथा कानुनी लडाइँमा आफूले एक सुको पनि आर्थिक लेनदेन वा कुनै अनुचित काम नगरेको स्पष्ट पारेका छन्।




प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेका भनिएका इनम सापकोटाको नाममा सार्वजनिक भएको अडियोबारे प्रतिक्रिया दिँदै थापाले उक्त अडियो कहाँ, कसले, किन र कहिले बोलेको हो भन्ने आफूलाई थाहा नभएको बताए।
‘त्यो अडियोमा मेरो बारेमा के कुरा सुनियो, त्यो अडियो कहाँ बोलेको, कसले बोलेको, किन बोलेको र कहिले बोलेको हो भन्ने मलाई थाहा छैन। बोलिएको हो कि बोलाइएको हो, त्यो पनि थाहा छैन,’ उनले भने।
थापाले यस विषयमा आफूलाई खासै चासो नरहेको उल्लेख गर्दै समग्र घटनाका एकपछि अर्को तथ्य र रहस्य समयक्रमसँगै सार्वजनिक हुँदै जाने विश्वास व्यक्त गरे। उनले घटनाका सबै पक्षको निष्पक्ष छानबिन भएर सत्यतथ्य बाहिर आउनुपर्ने धारणा राखे।
कांग्रेसको आधिकारिकताका लागि भइरहेको राजनीतिक तथा कानुनी संघर्षमा आफूले कुनै पनि आर्थिक कारोबार नगरेको दाबी गर्दै थापाले भने, ‘रुपैयाँ होइन, एक सुकाको पनि कुनै आर्थिक लेनदेन, कुनै अनुचित काम गरेको छैन र भएको छैन।’
आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो नैतिकता र राजनीतिक निष्ठामाथि विश्वास गर्न आग्रह गरे।
‘म गगन थापा, तपाईंको दाइ, तपाईंको भाइ, तपाईंको साथी, तपाईंको छोरा, तपाईंको महामन्त्री/सभापति कुनै कमजोर नैतिक धरातलमा उभिएको छैन,’ उनले भने, ‘मेरो हातमा दाग छैन, मनमा कुनै कालो छैन। मेरो हात सफा छ।’




