– लिखित रुपमा माफी मागेपछि १/१ हप्ता निलम्बन
दिलीप पोखरेल / उर्लाबारी




उर्लाबारी नगरपालिकाको दमकल शाखामा कार्यरत कर्मचारीले कार्यालय समयमै मदिरा सेवन गरेको घटना सार्वजनिक भएको छ। गत कार्तिक ३ गते नवमीको दिन बिहान करिब ११ः३० बजे पछाडी नगरपालिकामा दमकल टोलीका तीन कर्मचारीले बियर सेवन गरेर ड्यूटिमा खटिएको घटना बाहिर आएको हो।
उनीहरूले उक्त गल्ती स्वीकार गर्दै लिखित रुपमा माफी मागेतापनि कुनै कारबाही नगरी घटना गुपचुप राखिएको भन्दै एक भिडियो सार्वजनिक भएको छ ।
सोमबार साँझ उक्त घटना सामाजिक संजालमार्फत सार्वजनिक भएसँगै चर्चामा आएको हो। विशेषगरी उर्लाबारी क्षेत्रका जनसरोकारका विषयमा सामाजिक संजालमार्फत प्रश्न उठाउदै आएका स्थानीय युवा धनुष महतोले सार्वजनिक गरेको एक भिडियोले घटनाबारे थप चासो बढाएको छ। भिडियोमा उनले उर्लाबारी दमकलका कमाण्डर चालक राजन तामाङलाई बाटोमै रोकेर कार्यालय समयमै कर्मचारीले मदिरा सेवन गरेको विषयमा सोधपुछ गरेको देखिन्छ। त्यस्तै उनले अर्को भिडियो पोष्ट गर्दै मेयर गंगाप्रसाद खरेलसँगको फोन सम्बाद सार्वजनिक गरेका छन् । सो सम्बादमा मेयर खरेलले उनीहरुबाट गल्ली गरेको देखिएकोले पालिकाले आन्तरिक कारवाही समेत गरिसकेको बताएका छन् ।
के भएको थियो कार्तिक ३ गते ?
स्थानीयका अनुसार कार्तिक ३ गते नवमीको दिन बिहानको ड्युटीमा रहेका दमकल टोलीका कर्मचारीले बियर सेवन गरेर ड्यूटीमै खटिएका थिए। त्यस दिन चालक एकेन्द्र भण्डारीको कमाण्डमा दमकल टोली बिहानको सिफ्टमा खटिएको कमाण्डर चालक राजन तामाङले जानकारी दिए।
एक स्थानीयका अनुसार बिहान करिब ११ः३० बजे नगरपालिका परिसरमै चालक भण्डारीसहित फायर फाइटरद्वय धनबहादुर खत्री (नवराज) र कृष्ण भण्डारीले बियर सेवन गरेका थिए। कार्यालय समयमै कर्मचारीले मदिरा सेवन गरेको पाएपछि आफूले नगर प्रमुख गंगाप्रसाद खरेल र नगर प्रहरी प्रमुख यामबहादुर कार्कीलाई समेत जानकारी गराएको ती स्थानीयले बताए।
आफ्नो नाम नबताउने शर्तमा उनले भने, “पछि मेयर सा’ब नै नगरपालिका आउनुभएको थियो। उहाले चासो देखाउदै कारबाही गर्न लागेजस्तो देखिएको थियो। तर त्यसपछि के भयो, मलाई थाहा भएन।”
कमाण्डर चालक तामाङले के भने ?
आफ्नो सिफ्टको ड्युटी सम्हाल्न उक्त दिन साँझ ६ बजे कार्यालय पुगेका कमाण्डर चालक राजन तामाङले बिहानको सिफ्टमा रहेका कर्मचारीले बियर सेवन गरेको जानकारी आफूले साँझ करिब ७ बजेतिर मात्रै पाएको बताए।
पूर्वि प्रेससँगको टेलिफोन सम्पर्कमा उनले भने, ‘बिहान ड्युटीमा खटिनुभएका साथीहरुले बियर खानुभएको रहेछ भन्ने कुरा मैले साँझ करिब ७ बजेतिर मात्रै थाहा पाएँ। साँझ ६ बजेपछि चालक भण्डारी र फायर फाइटर खत्रीको ड्युटी सकिएकाले प्रत्यक्ष भेटेर बुझ्न पाइन तर अर्का फायर फाइटर कृष्ण भण्डारी ड्युटीमै हुनुहुन्थ्यो। उहाँसँग सोधपुछ गर्दा मापसे गरेको विषय थाहा पाएँ।’
उनकाअनुसार नगर प्रहरी प्रमुख यामबहादुर कार्कीले फायर फाइटर खत्री बिरामी भएको हो कि भनेर फोनमार्फत सोधिखोज गरेपछि आफूले पनि घटनाबारे बुझ्ने प्रयास गरेका थिए। तर खत्री बिरामी नभएको जानकारी पाएपछि थप सोधपुछ गर्दा कर्मचारीले ड्युटी समयमै मदिरा सेवन गरेको विषय खुलेको तामाङले बताए।
माफी मागेपछि १/१ हप्ता निलम्बन :
नगरपालिकानिकट एक स्रोतकाअनुसार मदिरा सेवनमा संलग्न तीनै जना कर्मचारीले आफ्नो गल्ती स्वीकार गर्दै लिखित रूपमा माफी मागेका थिए। त्यसपछि नगर प्रमुख खरेलले उनीहरूलाई अन्तिम चेतावनी दिएर १/१ हप्ता निलम्बन गरिएको स्रोतको दाबी छ।
यसैबीच, नगरपालिका निकट एक स्रोतले यसअघि समेत दमकल शाखाका केही कर्मचारी कार्यालय समयमै मदिरा सेवनमा संलग्न भएको दाबी गरेको छ। स्रोतकाअनुसार त्यसबेला पनि फायर फाइटर खत्रीसहित भण्डारी थरका एक कर्मचारीले गल्ती स्वीकार गर्दै माफी मागेका थिए। तर उक्त घटनासमेत कुनै औपचारिक कारबाहीबिना गुपचुपमै मिलाइएको स्रोतले बतायो।
घटनाबारे के भन्छन् मेयर खरेल ?
यस विषयमा नगर प्रमुख गंगाप्रसाद खरेलले उनीहरुलाई अन्तिम चेतावनी दिदै कारवाही गरिसकेको जानकारी दिए। मदिराजन्य वस्तु सेवन गरेर ड्यूटीमै खटिएको पाईएपछि उनीहरुलाई १/१ हप्ता निलम्बन गरिएको मेयर खरेलले पूर्वी प्रेसलाई बताए। उनले भने,’ मलाई एक फोन कलमार्फत घटनाबारे जानकारी भएपछि म साँझ कार्यालय पुगेको थिएँ। उनीहरुमध्ये केहि ड्यूटी सकेर निस्किसकेको भएतापनि एकजनालाई ड्यूटीमै खटिएको पाईएको थियो तर उनको अवस्था मदिराजन्य वस्तु सेवन गरेजसो देखिएपछि मैले सोधपुछ गर्दा उनले स्विकारेका थिए। उनीहरुले कार्यालय बाहिर वियर खाएर ड्यूटीमै खटिएको स्विकारेका थिए ।”




