दिपेश चौधरी
उर्लाबारी, २६ भदौ । मोरङको उर्लाबारी नगरपालिका–३ र ४ को सीमामा बग्ने बक्रा खोलाले धार परिवर्तन गर्दै पश्चिमतर्फको किनार कटान गर्न थालेपछि करिब ५० घरधुरी बाढी तथा खोला कटानको उच्च जोखिममा परेका छन्।

मनसुनी वर्षासँगै खोलामा पानीको बहाव बढेपछि बक्रा खोलाले आफ्नो पुरानो बहाव क्षेत्र छाडेर बस्ती नजिकको किनारतर्फ कटान तीव्र बनाएको स्थानीयको भनाइ छ। खोला क्रमशः बस्ती नजिक सर्दै गएपछि स्थानीयमा वर्षायाममा घरबास नै जोगाउनुपर्ने चिन्ता बढेको छ।

स्थानीयका अनुसार नुनसरी र बक्रा खोला मिसिएर आउने पानीका कारण बर्खाको समयमा बक्रा खोलामा पानीको बहाव अत्यधिक बढ्ने गरेको छ। त्यस क्रममा खोलाले हरेक वर्ष धार परिवर्तन गर्दै किनार कटान गर्ने र आसपासका बस्तीलाई जोखिममा पार्ने गरेको उनीहरूको भनाइ छ।
करिब ४१६ मिटर लम्बाइको फराकिलो क्षेत्रबाट बग्ने खोलाले वर्षायाममा आफ्नो बहाव क्षेत्र विस्तार गर्दा आसपासका बस्ती तथा भौतिक संरचनामा जोखिम बढ्ने गरेको स्थानीय बताउँछन्।

स्थानीयको सबैभन्दा ठूलो गुनासो भनेको बक्रा खोलाको कटान समस्या वर्षौंदेखि दोहोरिँदा पनि यसको दीर्घकालीन समाधान हुन नसक्नु हो। प्रत्येक वर्ष खोलाले धार परिवर्तन गरेर बस्ती र जमिन कटान गर्ने अवस्था देखिए पनि नियन्त्रणका लागि गरिने प्रयास अधिकांशतः अस्थायी प्रकृतिका हुने गरेको स्थानीयको आरोप छ।

स्थानीयका अनुसार अहिले पनि खोला बस्तीको नजिकैबाट बगिरहेका कारण जोखिम थप बढेको छ। समयमै बहाव व्यवस्थापन नगर्ने हो भने सामान्य वर्षामै पनि कटान तीव्र भएर घर तथा खेतीयोग्य जमिनमा क्षति पुग्न सक्ने अवस्था रहेको उनीहरूको भनाइ छ।

स्थानीयले तत्काल नदीको बहावलाई साविक दिशातर्फ फर्काउने गरी प्राविधिक अध्ययनसहित काम अघि बढाउन माग गरेका छन्। उनीहरूका अनुसार जोखिमयुक्त क्षेत्रमा ग्याबिन जाली भर्ने, आवश्यक स्थानमा पर्खाल निर्माण लगायतका उपाय अपनाउन सकिन्छ।

त्यस्तै, बक्राहा पुलभन्दा करिब २०० मिटर उत्तरतर्फ आर्यघाट नजिकको क्षेत्रमा जेसीबी प्रयोग गरी खोलाको बहावलाई आवश्यकताअनुसार व्यवस्थापन गर्न सकिने स्थानीयको सुझाव छ। तर यस्तो काम प्राविधिक अध्ययन र सम्बन्धित निकायको स्वीकृतिबिना गरिनु उपयुक्त नहुने भएकाले विज्ञको अध्ययन आवश्यक देखिन्छ।

हरेक वर्ष बाढी र कटानको त्रासमा बस्नुपर्ने अवस्था अन्त्य गर्न स्थानीय तह, जलस्रोत तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायले तत्काल संयुक्त पहल गर्नुपर्ने स्थानीयको माग छ। समयमै नदीको बहाव व्यवस्थापन र तट संरक्षणको दीर्घकालीन योजना अघि नबढाए बक्रा खोलाको जोखिम भविष्यमा ठूलो विपद्मा परिणत हुन सक्ने स्थानीयको चेतावनी छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय