उर्लाबारी, १८ भदौ । उर्लाबारी प्रहरीले अपराध अनुसन्धान, मुद्दा व्यवस्थापन, फरार प्रतिवादी पक्राउ तथा लागूऔषध नियन्त्रणतर्फ उल्लेख्य प्रगति गरेको जनाएको छ।
लागूऔषध नियन्त्रणमा २२ जना पक्राउ:




आर्थिक वर्ष २०८२/०८३ मा लागूऔषध नियन्त्रणतर्फ विभिन्न प्रकारका लागूऔषधसहित २२ जना पक्राउ परेका थिए। प्रहरीले सो अवधिमा ब्राउन सुगर १२३ ग्राम ५६ मिलिग्राम, २५ हजार ६७६ थान गोटी, गाँजा २ किलो २८० ग्राम, कोरेक्स ५ लिटर तथा चरेस २ ग्राम ३० मिलिग्राम बरामद गरेको जनाएको छ।
लागूऔषधसम्बन्धी घटनामा पक्राउ परेकामध्ये १० जना पुर्पक्षका लागि थुनामा, १२ जना धरौटीमा छुटेका तथा २८ जनालाई सुधारगृह पठाइएको विवरणमा उल्लेख छ।
चालु आर्थिक वर्षमा भने लागूऔषधसम्बन्धी घटनामा हालसम्म पक्राउ तथा मुद्दा दर्ताको संख्या नरहेको भए पनि एक जनालाई सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार चालु आर्थिक वर्ष २०८३/०८४ मा विभिन्न प्रकृतिका २८८ वटा मुद्दा दर्ताभएका छन्।
अपराध अनुसन्धान तथा मुद्दा व्यवस्थापनतर्फ मात्रै चालु आर्थिक वर्षमा २२ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। तीमध्ये ३ वटा फर्छ्यौट भएका छन् भने १९ वटा बाँकी छन्। दर्ता भएका मुद्दामा ५ जना प्रतिवादी पक्राउ परेका छन् भने १० जना फरार रहेको विवरणमा उल्लेख छ। पक्राउ परेकामध्ये २ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने ३ जना धरौटीमा छुटेका छन्।
५३ जना फरार प्रतिवादी पक्राउ:
फरार प्रतिवादी पक्राउतर्फ पनि प्रहरीले उल्लेख्य प्रगति गरेको छ। आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न मुद्दामा फरार रहेका ५३ जना प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ८ वर्ष २० दिन कैद तथा १० लाख ११ हजार २५३ रुपैयाँ जरिवाना असुल हुने देखिएको छ।
चालु आर्थिक वर्ष २०८३/०८४ मा समेत थप १४ जना फरार प्रतिवादी पक्राउ परेका छन्। उनीहरूबाट ३ वर्ष ५ दिन कैद तथा ४ लाख ३ हजार रुपैयाँ जरिवाना असुल हुने देखिएको छ।
यसरी दुई आर्थिक वर्षको अवधिमा प्रहरीले कुल ५७ जना फरार प्रतिवादी पक्राउ गरेको जनाएको छ।
हातहतियारतर्फ भरुवा बन्दुक बरामद:
प्रहरीको विवरणअनुसार चालु आर्थिक वर्षमा हातहतियारसम्बन्धी मुद्दा दर्ता भएको छैन। यद्यपि, विगतको अवधिमा प्रहरीले एक थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ।
प्रहरीले फरार प्रतिवादी पक्राउ, लागूऔषध नियन्त्रण, मुद्दा फर्छ्यौट तथा गम्भीर प्रकृतिका पेन्डिङ मुद्दाको अनुसन्धानलाई प्राथमिकतामा राखेको ईलाका प्रहरी कार्यालय उर्लाबारीकी प्रहरी निरिक्षक नबिन ओलीले बताईन ।
सार्वजनिक भएक्क तथ्यांकले अपराध अनुसन्धान र मुद्दा फर्छ्यौटसँगै फरार प्रतिवादी पक्राउलाई पनि प्रहरीले प्राथमिकताका साथ अघि बढाइरहेको देखाएको छ।




