लेटाङ, ३० असार । मोरङको लेटाङ नगरपालिकाको सत्रौँ नगरसभाबाट पारित नीति, बजेट तथा कार्यक्रम सार्वजनिकरण सम्पन्न भएको छ ।
नगर प्रमुख भूपेन्द्र कुमार लावतीको अध्यक्षतामा भएको सो कार्यक्रममा कोशी प्रदेशका माननीय प्रदेश प्रमुख पर्शुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी भए । कार्यक्रममा प्रतिनिधि सभाका पूर्व सदस्य घनश्याम खतिवडा, कोशी प्रदेश सरकारका पूर्वमन्त्री उपेन्द्र घिमिरे, पूर्व नगरप्रमुख शंकर राई, नेकपा एमालेका नेता युवराज वास्कोटालगायतको गरिमामय उपस्थिति रहेको थियो ।
कार्यक्रममा नगर प्रमुख लावतीले नीति तथा कार्यक्रमको सार प्रस्तुत गरे भने नगर उपप्रमुख कृष्ण कुमारी पोख्रेलले बजेटको संक्षिप्त विवरण सार्वजनिक गरिन् । क्रममा २०८२/८३ को नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित विभिन्न दस्तावेजहरू – आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा योजना, खेलकुद बुकलेट, न्यायिक समितिको प्रतिवेदनलगायत नगरले तयार पारेका प्रकाशनहरू सार्वजनिक गरिएको थियो ।
उक्त कार्यक्रममा नगरपालिकामा योगदान पुर्याउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान समेत गरेको छ ।
वडा नं. ५ मा कार्यालय भवन तथा स्वास्थ्य भवन निर्माणका लागि जग्गा दान गर्ने नागरिकहरूलाई विशेष सम्मान गरिएको थियो । त्यस्तै, माध्यमिक र आधारभूत तहमा उत्कृष्ट कार्यसम्पादन गरेका विद्यालयहरू, दीर्घसेवा शिक्षक तथा कर्मचारी, नवप्रवर्तनशील शिक्षक, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र कृषि तथा खेलकुदमा योगदान गर्ने व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गरिया े।
शिक्षा क्षेत्र अन्तर्गत क्भ्भ् २०८० मा उत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरूलाई विशेष सम्मान दिइयो भने कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने विद्यार्थीहरू पनि प्रोत्साहित गरिए। यसैगरी, फुटबल, भलिबल र करातेजस्ता खेलकुद क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई नगरको तर्फबाट सम्मान गरियो ।
कार्यक्रमको अन्त्यतिर विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले शुभकामना मन्तव्य राखेका थिए ।
जस्मा पूर्व नगरप्रमुख शंकर राई, पूर्व प्रदेश सांसद उपेन्द्र घिमिरे, पूर्व प्रतिनिधि सभा सदस्य घनश्याम खतिवडा तथा माओवादी केन्द्रका नेता गोपाल नेपालीले बोल्दै नगरपालिकाको नीति तथा कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाए ।
प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले समावेशी र अग्रगामी सोचका साथ अघि बढिरहेको लेटाङ नगरपालिकालाई आगामी दिनमा अझ सुदृढ बनाउने आशा व्यक्त गरे ।








