लेटाङ, ७ साउन । लेटाङ–९ जाँते निवासी तथा ‘शिवशक्ति बाबा’का नामले परिचित सुजनकुमार पूर्वछाने मगरले आफूलाई “महामण्डलेश्वर” र “जगतगुरु” को उपाधि घोषणा गरिएको दाबी गर्नुभएको छ ।
मंगलबार शिवशक्ति बाबाको आश्रममा आयोजित पत्रकार सम्मेलनमा उहाँले रामधुनी, सुनसरीमा असार २७ गते सम्पन्न धार्मिक समारोहका क्रममा उक्त उपाधिहरू प्रदान गरिएको जानकारी दिनुभयो ।
उक्त समारोह नरेन्द्र मोदी विचार मञ्च भारत, अन्तर्राष्ट्रिय सन्त वैदिक मञ्च, इन्डो–नेपाल रिलेसन एन्ड पिस फाउन्डेसन र विश्व वैदिक गुरुकुल फाउन्डेसन (१०८ देश) को संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
शिवशक्ति बाबाले उक्त उपाधि जन्मसिद्ध दैविक शक्तिका आधारमा प्रदान गरिएको दाबी गर्दै भन्नुभयो, “मैले यो ज्ञान पढेर होइन, दैविक वरदानस्वरूप प्राप्त गरेको हुँ।” भारतमा आगामी कुम्भ मेलामा यी उपाधिहरू औपचारिक रूपमा प्रदान गरिने पनि उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा सचिवालयका सचिव बासुदेव सिजाली मगरले शिवशक्ति बाबालाई अन्य तीनवटा अन्तर्राष्ट्रिय पुरस्कार पनि प्रदान गरिएको जानकारी दिनुभयो । ती पुरस्कारहरूमा विश्व दैविक शक्ति महारत्न अवार्ड २०२५, अन्तर्राष्ट्रिय गौरव अभिमान पुरस्कार २०२५ तथा मानार्थ डाक्टर उपाधि समावेश छन ्।
उहाँका अनुसार, शिवशक्ति बाबाले वैदिक सनातन धर्मको प्रचारप्रसार, समाजसेवा तथा दैविक शक्तिको सदुपयोग गर्दै आएको योगदानको आधारमा उक्त सम्मानहरू प्राप्त गरेका हुन्।
त्यसैगरी, इन्टिच्युट अफ इन्टरप्रेनरशिप एण्ड म्यानेजमेन्ट स्टडीज (क्ष्भ्ःक्) ले पनि बाबालाई अन्तर्राष्ट्रिय गौरव पुरस्कार र दैविक शक्तिका आधारमा मानार्थ डाक्टरको उपाधि प्रदान गरेको जनाइएको छ।
शिवशक्ति बाबालाई अन्तर्राष्ट्रिय सन्त बौद्धिक मञ्च तथा विश्व वैदिक गुरुकुल फाउन्डेसन (१०८ देश) को धार्मिक तथा सांस्कृतिक विभागको संयोजक पदमा समेत नियुक्त गरिएको सचिवालयले जनाएको छ।
पत्रकार सम्मेलनमा बाबाले आफूमा बाल्यकालदेखि नै दैविक शक्ति रहेको दाबी गर्दै भन्नुभयो, “सानैमा वनझांक्रीले लगेपछि ममा अलौकिक शक्ति जागेको हो। मैले विशेषतः प्यारालाइसिस, बोली नआउने, सिकारी जस्ता समस्यामा रहेका व्यक्तिहरूको उपचार गर्दै आएको छु।”
बाबाका अनुसार, आफूले दुःखविराममा परेका व्यक्तिहरूलाई सेवा गर्दै आर्थिक तथा भौतिक सहयोगसमेत प्रदान गर्दै आएका कारण विभिन्न संस्थाहरूबाट सम्मान प्राप्त भइरहेको हो।
उहाँले आगामी फागुनमा आफ्नो आश्रममा कोटीहोम शिवपुराण आयोजना गर्ने जानकारी पनि दिनुभयो। उक्त कार्यक्रममा नेपाल–भारतका प्रख्यात धर्मगुरु तथा कथावाचकको सहभागिता रहनेछ।
सचिवालयका अनुसार, शिवशक्ति बाबाले २०५३ सालदेखि भगवान शिवको पूजाआराधना गर्दै आउनुभएको हो। २०७३ सालदेखि आफ्नो निवासमै त्रिकालेश्वर शिवालय मन्दिर स्थापना गरी सेवा सञ्चालन गर्दै आउनुभएको छ। बाबाको दाबी अनुसार, उहाँले हातले छोएर उपचार गर्दा कैयौँ जटिल रोगहरू निको भएका उदाहरणहरू छन्।








