उर्लाबारी, २० साउन । मोरङको उर्लाबारीमा रहेको सप्तकोशी बोर्डिङ सेकेण्डरी स्कुलले हालै सार्वजनिक भएको कक्षा १२ को परीक्षाफलमा शतप्रतिशत सफलता हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा सहभागी २१ जना सम्पूर्ण विद्यार्थी उत्कृष्ट ग्रेडसहित सफल भएका हुन्।
विद्यालयले यो ऐतिहासिक सफलताले शैक्षिक उत्कृष्टता र अनुशासित वातावरणमा दिएको निरन्तर जोडको प्रतिफल भएको जनाएको छ।




सन् २०६६ सालदेखि व्यवस्थापन संकाय र २०७६ सालदेखि विज्ञान संकाय सञ्चालन गर्दै आएको विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म करिब एक हजार विद्यार्थी अध्ययनरत छन्। विद्यालयले गुणस्तरीय शिक्षा, व्यवहारिक अनुशासन र व्यक्तिगत विकासमा जोड दिँदै आएको छ।
विद्यालयका संस्थापक तथा प्रिन्सिपल लेखनाथ भट्टराईले परीक्षामा उत्कृष्ट सफलता प्राप्त गर्ने सम्पूर्ण विद्यार्थीलाई बधाई दिंदै शिक्षक, अभिभावक तथा विद्यालय परिवारको योगदानप्रति विशेष आभार प्रकट गर्नुभएको छ। उहाँले यो सफलता आगामी दिनमा अझ उचाइ हासिल गर्न प्रेरणा भएको बताउनुभयो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिश्र वैजयन्तीले यस उपलब्धिलाई विद्यालयको प्रतिबद्धता, परिश्रम र समर्पणको प्रतिफलको रूपमा मूल्यांकन गर्दै भविष्यमा अझ प्रभावकारी र नवप्रविधिमा आधारित शिक्षण–सिकाइ कार्यक्रम अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।




