उर्लाबारी, १९ चैत । मोरङको उर्लाबारी नगरपालिकाको एउटै वडा बाट ब्राउन सुगरसहित तीन जना पुरुष पक्राउ परेका छन् । पछिल्ला केही दिनयता एउटै वडाबाट लागुऔषध बरामदका घटना सार्वजनिक भएपछि स्थानीयवासीमा प्रहरी सक्रियताप्रति चासो बढेको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार चैत १६ गते वडा नम्बर–७ को मुनाल टोलबाट २३ वटा प्लास्टिकका साना–साना पोकामा पोको पारी राखिएको २ ग्राम ८१० मिलिग्राम ब्राउन सुगरसहित २९ वर्षीय देवु शर्मा र ३५ वर्षीय अनिष कार्कीलाई नियन्त्रणमा लिइएको हो ।
त्यसैगरी चैत १८ गते राति करिब ८ः५५ बजे विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोही वडाको वडा कार्यालय नजिकैबाट २४ वर्षीय सागर तामाङलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी नायब निरीक्षक पदम खड्काको कमाण्डमा खटिएको टोलीले शंकास्पद अवस्थामा फेला परेका तामाङको शरीर तलासी गर्दा उनले लगाएको हाफ पाइन्टको अगाडिको दाहिने गोजीबाट सेतो प्लास्टिकमा राखिएको करिब २०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको थियो ।
पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखी लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान गरी कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी निरीक्षक नविना ओलीले जानकारी दिइन् ।
उर्लाबारीमा पहिलो पटक महिला प्रहरी प्रमुखको रूपमा निरीक्षक ओलीले कमाण्ड सम्हालेपछि लागुऔषध ओसारपसार तथा अन्य अवैध गतिविधिमाथि कडाइ सुरु भएको स्थानीयको भनाइ छ ।
समाजमा अदृश्य रूपमा जरा गाडेर बसेको लागुऔषध कारोबार, युवापुस्तालाई कुलतमा फसाउने गिरोह तथा केही गेष्टहाउसमा अवैध रूपमा सञ्चालन हुँदै आएको यौन व्यवसाय नियन्त्रणमा कडा कदम चालिने अपेक्षा सर्वसाधारणले गरेका छन् ।
स्थानीयवासीले प्रहरीको पछिल्लो सक्रियतालाई सकारात्मक संकेतका रूपमा लिँदै निरन्तर निगरानी, समुदाय–प्रहरी सहकार्य र दोषीमाथि कडा कारबाहीको माग गरेका छन् । साथै उनिहरुले यो अप्रेसनलाई कडाइ साथ लागु गर्दैै निरन्तरता दिनु पर्ने बताएका छन् ।








