जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका उर्लाबारी नगरपालिकाका सवारी साधनको बिमा दाबी रकम भुक्तानी गरिएको छ। मंगलबार पथरीशनिश्चरेस्थित युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शाखाले नगरपालिकामा आयोजित एक कार्यक्रमबीच उक्त रकम हस्तान्तरण गरेको हो ।

नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेललाई कम्पनीका पथरी शाखा प्रमुख विकल श्रेष्ठले १ करोड २ लाख ५९ हजार ६ सय रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका छन्।

सो अवसरमा नगर प्रमुख खरेलले बिमा दाबी रकम समयमै भुक्तानी गरिएकोमा खुशी व्यक्त गर्दै कम्पनीलाई धन्यवाद दिएका छन्। साथै उनले आगामी दिनमा पनि छिटो, छरितो र गुणस्तरीय सेवा प्रदान गर्न कम्पनीलाई शुभकामना व्यक्त गरे।

नगरपालिकाले सो कम्पनीसँग बिमा गराएका सवारीमध्ये १२ वटा सवारीको ‘फुल इन्स्योरेन्स’ अन्तर्गतको दाबी रकम भुक्तानी गरिएको हो।

गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा नगरपालिकामा १३ वटा सवारी साधनमा आगजनी गरिएको थियो। तीमध्ये ९ वटा सवारी पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए भने ३ वटा सवारीमा आंशिक क्षति पुगेको थियो। साथै एक निजी मोटरसाइकलमा पनि क्षति भएको थियो।

 

 

नगरपालिकाले आन्दोलनका कारण सवारीमा भएको क्षतिबारे जानकारी गराउदै गत भदौ २९ गते सो कम्पनीसमक्ष बिमा दाबी गरेको थियो।

पथरी शाखा प्रमुख श्रेष्ठ उर्लाबारी–१ लक्ष्मिझार निवासी हुन्। उनले आन्दोलनका क्रममा क्षतिग्रस्त सवारी साधनको बिमा रकम द्रुत रूपमा भुक्तानी गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

चेक हस्तान्तरण कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अभयकुमार गुप्ता, जिन्सी शाखा प्रमुख नगेन्द्र तिम्सिना, योजना शाखा प्रमुख विकास दाहाल, प्रशासन शाखा प्रमुख भरत अधिकारी, जिन्सी शाखाका कम्प्युटर अधिकृत सुदेन सुवेदी र इन्स्योरेन्स कम्पनीका पोलिसी मेकर डम्बर पौडेललगायतको उपस्थिति रहेको थियो।

वि.सं. २०७९ सालदेखि पथरीमा शाखा सञ्चालन गर्दै आएको उक्त कम्पनीले मोटर बिमा, सम्पत्ति बिमा, कृषि बिमा, इन्जिनियरिङ बिमा, स्वास्थ्य बिमा, दायित्व बिमा, समुद्री बिमा, सूक्ष्म बिमा तथा उड्डयन बिमालगायतका बिमा सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय